सिन्धुपाल्चोकको उर्बरा भूमिमा जन्मिएका शारदा प्रसाद चालिसे समाज परिवर्तनलाई आफ्नो जीवनको अमुल्य ध्येय बनाउने एक कुशल सामुदायिक वन अभियन्ता हुन्। साविक पाङ्रेटार गाविस हाल सुनकोशी गाउँपालिका ७ डाँडाडिहीमा जन्मिएका चालिसे बहुआयामिक व्यक्तित्वका धनी छन्। सामान्य परिवारमा हुर्किएर आफ्नो जीवनलाई मात्र नभई सम्पूर्ण समाज र समुदायलाई सकारात्मक दिशा तर्फ अघि बढाउन उनी निरन्तर लागी परिरहेका छन्। सिन्धुपाल्चोकका शैक्षिक संस्था श्री सेती देवी शारदा मावि र जालपा माविबाट अध्ययन पुरा गरेपछि उनले आफ्नो भविष्यलाई सेवा र समाजको हितसँग जोडे। प्रारम्भमै जिल्लाका विभिन्न गैर-सहकारी संस्थाहरुसँग आबद्ध भई शिक्षा, स्वास्थ्य, खानेपानी, जल, जमिन, जङ्गल र समुदायको हक अधिकारका साथै वन डढेलो सचेतीकरण लगायतका विषय लिएर उनी जिल्लाका दुर्गम गाउँसम्म पुगे।
गाउँ, टोल र वस्तीका सामुदायिक वन उपभोक्ता समूहहरूमा सचेतना फैलाउँदै आवाज विहीनहरूको आवाज र अधिकार विहीनहरूको अधिकार स्थापित गर्दै उनले आफूलाई वन डढेलो नियन्त्रण गर्ने प्रखर अभियन्ताको रूपमा स्थापित गरे। मानव जीवनलाई स्वस्थ रहन र अनुशासित बन्न सामुदायिक वनको हरियाली कायम राख्नुपर्छ भन्ने दृढ विश्वासका साथ उनले यस क्षेत्रमा गहिरो रुचि देखाएका हुन्। वन विकास, वातावरण संरक्षण, डढेलो नियन्त्रण र जैविक विविधता संरक्षण सम्बन्धी विभिन्न तालिम लिई उनी जिल्लाकै हरित स्वयंसेवकमा आबद्ध भए। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सदस्यता प्राप्त गरेपछि उनले त्यसलाई केवल सदस्यतामा मात्र सीमित राखेनन्। उनले विभिन्न लेख रचनाहरू मार्फत वन जनताको धन हो र यसलाई डढेलोबाट बचाउनु पर्छ भन्ने सन्देश सरल ढङ्गले जनमानसमा पुर्याए।
शारदा प्रसाद चालिसेले विशेषगरी २०७७ सालदेखि वन डढेलो नियन्त्रण अभियानलाई तीव्रता दिएका हुन्। वनलाई कार्बनमा परिणत हुन नदिन र हरित अक्सिजनको संरक्षण गर्न उनले मेलम्ची, हेलम्बु, पाँचपोखरी, इन्द्रावती, चौतारा, जुगल, बलेफी, सुनकोशी, बाह्रबिसे, त्रिपुरा, लिसङ्खुपाखर र भोटेकोशी लगायतका सबै स्थानीय तहहरूमा सचेतना अभियान पुर्याए। उनको साहसिक प्रयासकै कारण अग्नि रेखा निर्माण, अग्नि रेखा सरसफाइ र नियन्त्रित डढेलो जस्ता कार्यहरू सफल भए। यस अभियानले सामुदायिक वन र पर्यटनलाई जोडेर जिल्लाको छुट्टै पहिचान बनाउन सफल भयो। विशेषगरी सालको पातबाट निर्मित दुनाटपरी उत्पादन र समुदायको आंशिक रोजगारीलाई वनसँग जोडेपछि उनको चर्चा अझ चुलियो।
आज नेपालकै नमुना जिल्लाका रूपमा सिन्धुपाल्चोकलाई विश्वसामु चिनाउन सफल चालिसेलाई सामुदायिक वन अभियन्ता, वन डढेलो नियन्त्रक, वातावरण संरक्षण अभियन्ता र हरित स्वयंसेवक संयोजक जस्ता धेरै नामले चिनिन्छ। उनले आफ्नो योगदान र अभियानलाई युट्युब, टिकटक, टेलिभिजन र अनलाइन समाचार मार्फत समुदायसम्म पुर्याइरहेका छन्। सामान्य पृष्ठभूमिबाट उठेर असाधारण योगदान गर्न सकिन्छ भन्ने कुराको उनी जीवित उदाहरण हुन्। वन र मानिसको सम्बन्धलाई एउटा सूत्रमा बाँधेर समाज रूपान्तरण गर्न सकिन्छ भन्ने उनको अभियानले सबैका लागि प्रेरणा प्रदान गरेको छ। हाम्रा कर्महरूलाई समाज र प्रकृतिको हितसँग जोड्न सके मात्र जीवन स्वस्थ र अभियान सार्थक हुने सन्देश उनले आफ्नो कर्मबाट दिएका छन्।