ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनमा दीक्षान्त समारोह: ६० विद्यार्थी दीक्षित

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र २६, २०८२
337 पटक हेरिएको
विनायक शिक्षा निकेतनमा दीक्षान्त समारोह: ६० विद्यार्थी दीक्षित

मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले बिहीबार एक भव्य समारोहका बीच पूर्व प्राथमिक तह पूरा गरेका विद्यार्थीहरूका लागि दीक्षान्त समारोह आयोजना गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ६० जना नानीबाबुहरूलाई दीक्षित गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि एवं मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य अरुणा कारणजीतले दीक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्नुभएको थियो। सो अवसरमा उहाँले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले विद्यालयले केवल किताबी ज्ञानमा मात्र सीमित नरही बालबालिकाको सर्वाङ्गिण विकास र संस्कारयुक्त शिक्षामा विशेष जोड दिँदै आएको बताउनुभयो। विभिन्न अतिरिक्त क्रियाकलापका माध्यमबाट बालबालिकालाई व्यवहारिक शिक्षा प्रदान गर्नु विद्यालयको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।

विद्यालयका प्रबन्धक शोभा प्रजापतिको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा अभिभावकहरूका तर्फबाट महेश प्रजापति, सोनी मानन्धर र लिना प्रजापतिले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले विद्यालयले बालबालिकाको जग बसाल्न खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो।

दीक्षान्त समारोहमा विद्यार्थी भाइबहिनीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए। साना बालबालिकाहरूको कलात्मक प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो।

पूर्व प्राथमिक तहका संयोजक पदमा श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अभिभावक, शिक्षक तथा शिक्षाप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।