ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरी मा.वि.को ६४औं, वागीश्वरी कलेजको १५औं र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको स्थापना वार्षिकोत्सव समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर संवाददाता

११ फाल्गुण २०७९, बिहिबार
114 पटक हेरिएको
वागीश्वरी मा.वि.को ६४औं, वागीश्वरी कलेजको १५औं र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको स्थापना वार्षिकोत्सव समारोह सम्पन्न

वागीश्वरी मा.वि.को ६४औं, वागीश्वरी कलेजको १५औं र वागीश्वरी कलेज अफ म्यानाजमेन्टको स्थापना वर्षको अवसरमा बिहीबार कमलविनायकस्थित विद्यालय प्राङ्गणमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमका साथ वार्षिकोत्सव समारोह २०७९ सम्पन्न भएको छ ।

उक्त समारोहका प्रमुख अतिथि नेपाल मजदुर पार्टीका अध्यक्ष नारायण मान विजुक्छेँले भने ‘देशका विद्यार्थीहरु विदेश लैजाने हाम्रा बुद्धिजिवीहरु देशद्रोही हुन् । ज्ञानभन्दा बढ्ता स्वार्थमा लागेपछि देश दुर्घटनामा पर्छ । हाम्रा छोराछोरीलाई विदेशीले लेखेको इतिहास पढाउने होइन, हाम्रा पौरखले लेखेको इतिहास पढाउनुपर्छ ।’ ।

उनले कुनै विषयमा विद्यावारिधि गर्दैमा ऊ देशभक्ति नबन्ने औंल्याए । विषयवस्तुसँगै व्यावहारिक ज्ञान र सिप सिकाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘अरुको कुरा सुनेर चौकी नै छोडेर हिड्ने मान्छेलाई विश्वासघाटी भन्छौं, बुद्धिजिवी भन्दैनौं ।’ सरकारभित्रको नीतिगत खोटले नै नेपाली विद्यार्थीहरु बाहिरिनुपरेको उनको तर्क छ ।

कार्यक्रमका विशेष अतिथि एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले शिक्षालाई किनवेचको माध्यम बनाउन नहुने तर्फ सचेत पार्दै उनले उत्कृष्ठ शिक्षाको गन्तव्य भक्तपुर बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । विषयगत शिक्षक नहुनु, भौतिक पूर्वाधारको कमी हुनु, पाठ्यपुस्तक अभाव हुनु सार्वजनिक विद्यालयको चुनौती रहेको बताउँदै उनले उच्च शिक्षा अध्ययन गर्नेका लागि भक्तपुर न.पा.ले शैक्षिक ऋण उपलब्ध गराइरहेको जानकारी दिए । उनका अनुसार कोही विदेशी आएमा तिनीहरुलाई गुरु मान्ने प्रवृतिको अन्त्य हुनुपर्छ ।

वागमती प्रदेश सभासद् सुरेन्द्र राज गोसाईले राजनैतिक नैतिकताविनाको समाज सरम्भव भएको बताउँदै उनले सिद्धान्तच्यूत र नैतिकता गुमाएका शासक दलकै कारण शिक्षा नीति डामाडोल बनाएको प्रष्ट्याए । उनले विभिन्न देशको उदाहरण बताउँदै शिक्षाको महत्व र सन्देश हरेक विद्यार्थीमा पु¥याउन संघर्षका इतिहास अध्ययन गराउनुपर्ने बताए । उनले घोकाएर, बाध्य पारेर मात्र हुँदैन, शिक्षकहरु पनि अबको डिजिटल प्रविधिसँगै गरेर देखाउनुपर्ने, डोर्‍याएर लग्नुपर्ने भएको टिप्पणी गरे ।

त्यस्तै अर्का वागमती प्रदेश सभासद् सृजना सैंजूले देशभक्तिपूर्ण शिक्षा र कार्य गर्नका लागि सानै कक्षाबाट शिक्षा दिनुपर्ने बताउँदै उनले व्यापक दृष्टिकोणको विकासका लागि शिक्षकहरुले विद्यार्थीहरुको चेतनामा परिवर्तन गर्नुपर्ने बताए । उनले कलेजको नयाँ कार्यक्रम बीबीएलाई एमबीएसम्म लग्नुपर्नेमा जोड दिए । वागीश्वरीले सस्तो, सुलभ र गुणस्तरीय शिक्षा दिएकै कारण यो कार्यक्रम ढिलो स्वीकृति दिएको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले विद्यार्थीहरुलाई कितावी किरोमा सीमित नराखी विभिन्न क्षेत्र र व्यवसायमा सदुपयोग गर्नुपर्ने बताए ।

संयुक्त परीक्षा समिति, भक्तपुरका अध्यक्ष श्रीकृष्ण किसीले संयुक्त परीक्षा समितिमा आबद्ध सदस्य विद्यालयहरुको शैक्षिक गुणस्तरीयतामा एकरुपता कायम गर्न विद्यार्थीहरुको ज्ञानका साथै व्यवहारिकतामा प्रखर हुन क्यालेण्डरसहित कार्यक्रम ल्याएको बताए ।

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष महाश्रम शर्माले पाठ्यक्रमको उपलब्धि निकाल्न सरकार असफल भइरहेको अवस्थामा वागीश्वरीले देखाएको देन अतुलनीय भएको बताए । उनले स्थानीय नेतृत्व सफल भए शिक्षामा जोड दिने बताए । ज्ञान, सिप र व्यवहार तीनवटा कुरालाई संयोजन गरी अगाडी बढाउनुपर्ने उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छा, कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, सहायक प्र.अ. उकेश सुवाल, शिक्षक मंगलेश्वर ध्वँजूलगायतले बोलेको उक्त कार्यक्रममा विद्यार्थीहरु चाँदनी रानी वैद्य, तेन्जिङदोल्मा लामा लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा सिद्धिबहादुर स्मृति छात्रवृत्ति, नारायणी मानन्धर छात्रवृत्ति, कृष्णराम–कृष्णलक्ष्मी छात्रवृत्ति, वागीश्वरी पूर्व विद्यार्थी समाज छात्रवृत्ति, वागीश्वरी विद्यार्थी सहायता कोष छात्रवृत्ति, सिद्धिवीर छात्रवृत्ति, गोविन्द–बुधमाया छात्रवृत्ति, शैक्षिक सामग्री कोष छात्रवृत्ति र भक्तपुर न.पा. दलित छात्रा छात्रवृत्तिलगायतका छात्रवृत्ति प्रदान गर्न विद्यालयका शिक्षकहरुलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अथितिबाट २५ वर्ष निरन्तर विद्यालयमा रही सेवा गर्ने राजेन्द्र भण्डारी, प्रविण प्रधान, ज्ञानीछोरी श्रेष्ठ र हरिप्रसाद दाहाललाई दीर्घ सेवा पदक र २०७८ को एसईईमा ४जीपीए ल्याउने श्रीषा दिदीयालाई सम्मान गरेको थियो । उनले विद्यालयको स्मारिका र पत्रिका विमोचन गरेको थियो ।

त्यस्तै उत्कृष्ठ शिक्षक कर्मचारी, कक्षागत उत्कृष्ठ विद्यार्थीहरुलाई अन्य अतिथिहरुबाट पुरस्कार वितरण गरेको थियो । कार्यक्रमपश्चात विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।