भक्तपुर नगरपालिकाका वडा नं. ८ ताैलाछेंस्थित समाज सुधार माध्यमिक विद्यालयको ५२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यालय तथा कलेजहरुले विदेशउन्मुख शिक्षा नभई हाम्रो देश र समाज सुहाउँदो शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुलाई प्राथमिकतामा राख्दै भौतिक पूर्वाधार निर्माण, आर्थिक अनुदान, शिक्ष तालिमलगायत गतिविधि सञ्चालन गर्दै आएको बताउँदै राजनैतिक नेतृत्वको दूरदर्शी सोचकै कारण आज भक्तपुर देशकै सफा र शिक्षित नगरको रुपमा विकास भएको बताउनुभयो ।
अभिभावकहरु सामुदायिक शिक्षा राम्रो नभएको भन्दै निजी कलेजहरुमा महँगोमा आफ्ना बालबालिकाहरुलाई पढाउन बाध्य भइरहेको बताउँदै उहाँले भक्तपुरका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर तुलनात्मक रुपमा माथि उठेको र त्यहाँ अध्ययनरत विद्यार्थी संख्या पनि सन्तोषजनक रहेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले ५२ वर्ष सफलतापूर्वक पार गरेको समाज सुधार माविले आगामी दिनहरुमा अझ प्रगतिउन्मुख भई अगाडि बढ्ने विश्वास व्यक्त गर्दै भूतपूर्व विद्यार्थी र शिक्षकहरुले विद्यालयबारे आफ्नो अनुभव नयाँ विद्यार्थीहरुको लागि लिपिबद्ध गरिनु आवश्यक भएको बताउनुभयो ।
राजनीतिक अस्थिरताले देश झन् झन् पछाडि धकेल्दै गएको बताउँदै अस्थिर र अवसरवादी राजनीतिक नेतृत्वले देशको भन्दा व्यक्तिको हित र स्वार्थलाई प्राथमिकतामा राखी काम गर्छन् जुन देशको घातक भएको बताउनुभयो ।
समाज सुधार माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रअ जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापति, संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसी, पूर्व प्रअ लक्ष्मीनारायण दुवाल, संस्थापक शिक्षक कान्छा बासुकला, अभिभावक प्रतिनिधि रबिन बोहजू, भूतपूर्व विद्यार्थी डा. शर्मिला गाइजु, विद्यार्थी प्रतिनिधि सुहाना कार्कीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले विद्यालयका उत्कृष्ट विद्यार्थी र अतिरिक्त क्रियाकलापका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।