ताजा अपडेट

ट्रेन्डिङ

लघुकथा – “योगदानको स्मरण आवश्यक”

Gyan Khabar

ज्ञानखबर संवाददाता

२० फाल्गुण २०७९, शनिवार
347 पटक हेरिएको
लघुकथा – “योगदानको स्मरण आवश्यक”

‘Morning shows the day’ यो कथन प्रभाको बाल्यावस्थामा मेल खाएन । प्रभाको बुबाको व्यवसाय राम्रो भएकोले उनले प्ले ग्रुपदेखि युकेजीसम्म राम्रै निजी स्कूलमा पढ्ने अवसर पाइन् । उनको बुबाले अचानक घर छोडेर जानु भएपछि घरमा औंसीको रातझैँ अँध्यारो छायो । पढ्ने त टाढाको कुरा, खान र लाउन नै मुश्किल हुन थाल्यो । जसोतसो अभावै अभावमा ११/१२ वर्ष बित्यो ।

कोही नभएकाको लागि भगवान् हुन्छ भन्ने कुरा प्रभाले सुनेकी थिइन् । रूपक सर प्रभाको जीवनमा भगवान्‌को अवतारको रूपमा प्रस्तुत हुनुभयो । प्रभाको घारको दयनीय आर्थिक अवस्थालाई मध्यनजर गरी एक छाक माछा खुवाउनुभन्दा माछा मार्ने तरिका सिकाउने मनसायले उनलाई आफ्नो विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्न लगाइन् । विद्यालयमा काम सकेपछि रूपक सरले प्रभालाई पढाउन थाल्नुभयो । प्रभाको पढ्ने दृढ इच्छाशक्ति भएकोले रूपक सरले बिहानी स्कूलमा कक्षा ६ मा भर्ना गरिदिनुभयो । स्कूलमा नबुझेका कुराहरू रूपक सरले बुझाउने गर्नुहुन्थ्यो ।

बिहान स्कूलमा पढ्न जाने, दिउँसो विद्यालयमा काम गर्ने र बेलुका गृहकार्य गर्नुपर्दा प्रभा व्यस्त हुन थालिन् । साथीहरूसँग मनोरञ्जन र आफन्तसँग भेटघाट सबै कुरा त्यागेर अर्जुन दृष्टिजस्तै एक ध्यानले पढाइमा लागिरहिन् । फलतः ४/५ वर्षको निरन्तर मेहनतपछि एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण हुन उनी सफल भइन् ।

एसएलसीपछि रूपक सरले प्रभालाई कार्यालय सहयोगीबाट निजी शिक्षिकामा रूपान्तरण गरिदिनुभयो । प्रभा शिक्षिकाको भूमिका निर्वाह गर्ने सुअवसर पाएकोमा उनी आफूलाई सौभाग्यशाली ठानिन् । उनको परिवारका आमा र भाइहरूको मुहारमा खुसीका रेखा देख्न थाले । रूपक सरको प्रेरणा र प्रभाको पढ्ने इच्छाशक्तिले +२ र बी.एड. सम्मको उपाधि हासिल गरिन् । विद्यालयमा पनि शैक्षिक योग्यतासँगै निजी शिक्षकबाट ECD, अस्थायी र स्थायीसम्मको लामो यात्रामा रूपक सरले अटुटरूपमा साथ र सहयोग गरिरहनुभयो ।

विद्यालयको वार्षिक उत्सवमा प्रभाको कर्तव्यनिष्ठ गुण, इमानदारी, अनुशासित तथा असल व्यवहारलाई कदरस्वरूप सम्मान गरियो । उक्त कार्यक्रममा मनको कुरा पोख्ने क्रममा प्रभाले भनिन्, “मैले जीवनमा धेरै दु:ख भोगेकी छु । कहिले दिनको एक छाक त कहिले भोकै पनि सुतेकी छु । यद्यपि, पढ्ने दृढ इच्छाशक्ति भएमा पढ्न सकिने रहेछ । म सफल हुनुमा रूपक सरको ठूलो हात छ । उहाँको अनवरत साथ, सहयोग र हौसलाले नै म यहाँसम्म पुगेकी हुँ । उहाँले मलाई असल शिक्षक बन्ने अवसर दिनुभयो । उहाँ सदैव मेरो हृदयमा रहिरहनुहुनेछ । हरेक सफल व्यक्तिको पछाडि अर्को सफल व्यक्ति हुन्छ । रूपक सरको सहयोगी भावना, विवेकी स्वभाव र इमानदारीलाई म सधैँ कदर गरिरहन्छु । जब म भगवान्‌को पूजा गर्न बस्छु तब देवताको मुहारमा रूपक सरको अनुहार देख्न थाल्छु । मेरो लागि त रूपक सर नै भगवान् हो ।” प्रभाको हृदयस्पर्शी अभिव्यक्तिले सभामा नीरवता छायो ।