ताजा अपडेट

ट्रेन्डिङ

हिमालयन ग्लोरी इंगलिस स्कूलमा अभिभावक दिवस, पुरस्कार वितरण समारोह तथा सांस्कृतिक कार्यक्रम

Gyan Khabar

ज्ञानखबर संवाददाता

२६ चैत २०७९, आईतबार
213 पटक हेरिएको
हिमालयन ग्लोरी इंगलिस स्कूलमा अभिभावक दिवस, पुरस्कार वितरण समारोह तथा सांस्कृतिक कार्यक्रम

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. २ स्थित हिमालयन ग्लोरी इंगलिस स्कूलको अभिभावक दिवस, विद्यार्थी–शिक्षक सम्मान, पुरस्कार वितरण समारोह तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरका शैक्षिक संस्थाहरु बन्द हड्तालबाट मुक्त भएकै कारण आज शैक्षिक क्षेत्रमा अगाडि बढेको बताउँदै भक्तपुर नपाले अरुको भरमा होइन, आफ्नै खुट्टा बलियो पार्ने ढंगले नगरपालिकालाई आत्मनिर्भरतातर्फ जोड दिँदै आएको बताए ।

भक्तपुर नगरपालिका वडा नं. २ वडाध्यक्ष हरिप्रसाद बासुकलाले दक्ष युवा जनशक्ति विदेशिँदा देश विकासमा बाधा पुगेको बताउँदै विद्यालयहरुले नयाँ पुस्तालाई देशभक्त र नैतिक विषयमा विशेष जोड दिएर अध्ययन अध्यापन गराउनु आजको आवश्यकता भएको बताए ।

त्यस्तै पूर्व वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रबिन्द्र खर्बुजाले हिमालयन ग्लोरीमा अध्ययन गरेका पूर्व विद्यार्थीहरु आर्थिक, नैतिक, भौतिक रुपमा समाजमा अग्रसर भई काम गरिरहेको बताउँदै विद्यालय, विद्यार्थी र अभिभावकको तीनपक्षीय सुमधुर सम्बन्धले विद्यालयको शैक्षिक स्तर उन्नति हुने बताए ।

विद्यालयका प्रअ कृष्णराम त्वानाबासुले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समुदायमा आधारित हिमालयन ग्लोरी विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र गरिब तथा कामदार जनतालाई वैज्ञानिक शिक्षा प्रदान गर्न जोड दिइरहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशराम वैद्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा सदस्य श्यामसुन्दर मातां, अभिभावक प्रतिनिधि प्रनेश बाटी, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष प्रशान्त वेंजुले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार वितरण, एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ तथा लामो समयसम्म विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरुलाई सम्मान गरिएको थिए ।