ताजा अपडेट

ट्रेन्डिङ

छात्रवृत्तिका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन विद्यालयहरु सहमत

Gyan Khabar

ज्ञानखबर

मङ्ल, साउन ९, २०८०
658 पटक हेरिएको
छात्रवृत्तिका विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउन विद्यालयहरु सहमत

भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालय तथा कलेजहरु गरिब, जेहेनदार तथा छात्रवृत्तिका लागि सिफारिस गरिएका विद्यार्थीहरुलाई कक्षा ११ र १२ अध्ययन अध्यापन गराउने सहमत भएको छ ।

भक्तपुरका विद्यार्थीहरुलाई २१ औं शताब्दीका योग्य नागरिक बनाउन र आर्थिक कारण विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नबाट बञ्चित हुन नदिन भक्तपुर नपाले २०७५ सालदेखि छात्रवृत्ति वितरण गर्दै आइरहेको नगर प्रमुख प्रजापतिले बताए ।

उहाँले विद्यालयहरुले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुको शैक्षिक अवस्थाबारे नगरपालिकालाई अवगत गराउनुपर्ने बताउँदै भक्तपुरलाई शैक्षिक रुपमा अझ परिस्कृत ढंगले अगाडि बढाउन विद्यालयहरुको क्रियाशीलता आवश्यक रहेको बताए ।

उपप्रमुख रजनी जोशीले विद्यार्थीहरुलाई अध्ययनमा नियमितताको लागि छात्रवृत्तिले विशेष भूमिका खेलेको बताउँदै गरिब र जेहेनदार विद्यार्थीहरु छात्रवृत्तिबाट बढी लाभान्वित भएको भने ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले विद्यालयका प्रअहरुबीचको छलफलबाट प्राप्त सुझावहरु रचनात्मक भएको बताउँदै नपाबाट प्रदान गरिने छात्रवृत्तिको विषयमा विद्यार्थीहरुलाई समयमै सूचित गरिनुपर्ने बताए ।

नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा विज्ञान विषयमा ३७० जना, व्यवस्थापनमा ३१५, मानविकीमा १३, शिक्षामा १९ र कानुनमा २६ गरी कूल ७४३ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी गराए।

बैठकमा उपस्थित संस्थागत र सामुदायिक विद्यालयका प्रअहरुले छात्रवृत्ति छनोट परीक्षा स्तरीय ढंगले सञ्चालन गरिनुपर्ने, अध्ययनशील र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने, विद्यालयमा ८० प्रतिशत हाजिरी भएका विद्यार्थीहरुलाई प्राथमिकतामा राख्नुपर्ने, छात्रवृत्तिबाट अध्ययनरत विद्यार्थीहरुलाई संगठित गर्दै नपाबाट मार्गनिर्देश गर्नुपर्ने, कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई बौद्धिक र अतिरिक्त क्रियाकलाप सञ्चालनमा जोड दिनुपर्ने, विद्यालय स्वयम्ले विद्यार्थीको योग्यताको आधारमा १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएकोलगायतका धारणा राखेका थिए ।

भक्तपुर नगरपालिकाले शैक्षिक वर्ष २०८०।८१ को लागि छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि २०८० साउन १३ गते शनिबार भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ८ बजे छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरिने भएको छ ।