दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) मा शुक्रबारदेखि ‘रोवोटिक्स कोडिङ’ कक्षा सुरु भएको छ ।
काठमाडौ महानगरपालिकाले गत वैशाख १२ गतेदेखि सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमअन्तर्गत कक्षा सञ्चालन गरिएको हो । कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ‘ब्लक’मा आधारित कोडिङ सिकाइएको छ भने कक्षा ७ र ८ का विद्यार्थीलाई ‘पाइथन प्रोग्रामिङ’ सिकाइएको छ ।
विद्यार्थीको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनोट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृतिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।
महानगरपालिकाका १४ विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । महानगरले जीवनउपयोगी शिक्षा दिने मुख्य उद्देश्यअनुरूप गत वैशाखदेखि ८९ वटै विद्यालयमा प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।