विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बिहीबार प्रतिनिधिसभामा उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।
उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरेका हुन् ।
विधेयकमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिलाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव पेस भएका छन् । असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि बुधबार दिउँसो ४ बजेसम्म समय दिइएको थियो ।
विधेयकमा संशोधनमा असोज ५ गते नेपाल शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरूको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ । उक्त विधेयकमा सांसदले संयुक्त र एकल रूपमा एक सय ५० भन्दा बढी संशोधन दर्ता गराएका छन् ।
सरकारले संसद्ंमा विधेयक दर्ता गरेपछि महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरेको थियो । आन्दोलनपछि भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो । सोही बुँदा विधेयकमा संशोधनका रूपमा समावेश गरिएको हो । अब उक्त विधेयकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफल हुनेछ ।