ताजा अपडेट

ट्रेन्डिङ

लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप, १५ जना घाइते

Gyan Khabar

ज्ञानखबर

२७ माघ २०८०, शनिवार
234 पटक हेरिएको
लमजुङ क्याम्पसमा विद्यार्थीबीच झडप, १५ जना घाइते

लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच शनिबार दिउँसो अचानक झडप भएको थियो ।

झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि पोखरा र चितवन लगिएको छ । बाँकी घाइतेहरुको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएका छन् ।

निमित्त क्याम्पस प्रमुख खनालका अनुसार शनिबार दिउँसो साढे ११ बजे क्याम्पसमा अचानक विद्यार्थीहरुबीच हानाहान भएको थियो । त्यसक्रममा विद्यार्थीहरुले फलामे रड र क्रिकेटको व्याटलगायतले एक अर्कालाई प्रहार गरेका थिए ।

विद्यार्थी मदन रिजाल (टाउकोमा चोट) र बेदान्त घिमिरे (देब्रे हात भाँचिएको) को गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विराज सुवेदी (छात्राबासको छतबाट फालिएका, नाकको हड्डी भाँचिएको) र टिकाराम ढकाल (नाक भाँचिएको) को चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको र उपचार भइरहेको क्याम्पसले जनाएको छ ।

खनालका अनुसार नेविसंघ र अनेरास्ववियुमा विभाजित विद्यार्थीहरुबीच अचानक झडप भएको थियो । ‘घटना होस्टेलभित्रै भएको हो । केही विद्यार्थीहरुले बसिरहेकाहरुलाई समेत आक्रमण गरेको देखिएको छ,’ उनले भने ।

फागुन ८ देखि क्याम्पसमा बीएसएजीको कक्षा सञ्चालन हुँदैछ । त्यही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको हुन सक्ने उनले बताए । घटनापछि क्याम्पसको छात्राबास खाली गराइएको छ भने सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख डीएसपी मिनबहादुर घलेका अनुसार शनिबार दिउँसो पौने १२ बजेतिर खबर आएपछि प्रहरी पुगेको र अहिले अवस्था सामान्य रहेको छ । घाइते ४ जनालाई रिफर गरिएको र अन्य घाइते उपचार पछि फर्केका छन् । ‘घाइतेको टाउको, हात, खुट्टा, नाकमा चोट लागेको छ,’ उनले भने । उनले छात्रावासभित्रै घटना घटेको जानकारीमा आएको बताए । ‘विद्यार्थीले नै विद्यार्थीमाथि आक्रमण गरेको बुझियो । अहिले कोही सम्पर्कमा छैनन्,’ उनले भने ।

अनेरास्ववियु केन्द्रीय समितिले लमजुङ कृषि क्याम्पसको होस्टेलमा पढिरहेका विद्यार्थीमाथि नेविसंघका जत्था प्रवेश गरी कोठा थुनेर आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेको छ । अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै नेविसंघका विद्यार्थीहरुले विवस विक, टिकाराम ढकाल, विराज सुवेदी, मदन रिजाल, सुलभ बस्याल, सुशील पौडेल, सुरेशराज अवस्थी, दिपेश रोकाया, वेदनाथ घिमिरे, अर्जुन ढकाल, सागर अधिकारी, नारायण भुषाल, आशिष रानाभाट, सौगात ढकाल, विनोद थारु, गौरभ जोशी, भुषण अवस्थी, शंकर भण्डारी, अर्पण महत्रा, खगेन्द्र जोशी, सुजल अर्याल र सुरज घिमिरे गरी २२ जनामाथि माथि खुकुरी, रड प्रहार गरी घाइते बनाएको भन्दै खेद प्रकट गरेका छन् ।

यता नेपाल विद्यार्थी संघका क्याम्पस इकाई सभापति असिम वस्तीले भने विवाद हुँदा दोहोरो झडप भएको बताए । ‘क्याम्पसमा भर्ना हुन आउने २ जना नेविसंघका विद्यार्थीलाई अनेरास्ववियुले चितवन गएर ल्याएछन् । त्यही विषयमा कुरा गर्न जाँदा दोहोरो झडप भएको हो,’ उनले भने ।

उनले २ जना छतबाट हाम फालेर घाइते भएको भन्ने सुनिएको र अरु थाहा नभएको प्रतिक्रिया दिए