आज श्रीपञ्चमी अर्थात माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्ने दिन । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदैछ ।
सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्दछन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
आजको दिनमा बालबालिकालाई अक्षर चिनाउन शुरु गर्ने पनि गरिन्छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
सृष्टिकर्ता ब्रह्माले आफ्नो शरीरको आधा भाग (मुख)बाट सरस्वतीको उत्पत्ति गरेको पुराणमा उल्लेख छ । मुखबाट उत्पत्ति भएको हुनाले सरस्वतीलाई वाणीकी देवी (वाक् देवी) पनि भनिएको हो ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमध्ये भक्तपुरको चाँगुना्रायण सरस्वतीखेलस्थित सरस्वती मन्दिर, सुडालको थालकमाथ, भक्तपुरको भेलुखेलस्थित सरस्वती मन्दिर, नागपोखरीको सरस्वती मन्दिर, सूर्यविनायक चित्तपोलको सरस्वती मन्दिर तथा काठमाडौंको स्वयम्भू, मैतीदेवी र गैरीधाराको नीलसरस्वती, ललितपुरको लेले लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्दछ ।