ताजा अपडेट

ट्रेन्डिङ

ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लको वार्षिकउत्सवको उद्घाटन कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

९ फाल्गुण २०८०, बुधबार
372 पटक हेरिएको
ख्वप मावि, ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ लको वार्षिकउत्सवको उद्घाटन कार्यक्रम सम्पन्न

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिकउत्सव कार्यक्रमको उद्घाटन आज भव्य समारोहबीच कलेज प्रांगणमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै सांसद सुवालले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुको जग अझ मजबुत बनाइ यसका सेवा सुविधाहरु अझ व्यापक बनाउँदै लानुपर्ने बताए । निजीकरणले शैक्षिक क्षेत्रमा मात्र नभई देशको अर्थतन्त्रमा समेत नकारात्मक असर सिर्जना गरिरहेको बताउँदै उहाँले संसदमा पुँजीपति वर्गका प्रतिनिधिको बहुमत भएकै कारण व्यापक जनताले दुःख पाइरहेको बताए ।

संसदबाट ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर प्रयासरत रहेको बताउँदै उनले जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा शासकहरुले नै बाधा पुर्‍याइरहेको छ भने ।

कार्यक्रमका सभापति कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन आवश्यक पहल गरिरहेको बताउँदै भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरु बन्द, हड्तालबाट मुक्त रहेको बताए । शिक्षा, स्वास्थ्य उपचार, खाद्यान्नदेखि हरेक वस्तुमा विदेशनिर्भर हुँदै गएको बताउँदै उनले विद्यार्र्थीहरुलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आदेय, त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुसुम शाक्य, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेज बीए, बीएसडब्लू र एमए अंग्रेजी कमिनिकी न्याइँच्याइँले पनि बोलेका थिए ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साथै वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्न रुपमा दश वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिकोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिता, वादविवाद, दौड प्रतियोगिता, सटपुट, भलिबल, बास्केटबल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।