विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै युगानुकूल, स्तरीय, वैज्ञानिक र सान्दर्भिक शिक्षा प्रदान गर्दै आएको मध्यपुर ठिमीस्थीत विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरूका बीचमा स्क्र्याबल च्याम्पियनसिप आयोजना गरेको छ।
कक्षा ६ र ७ जुनियर तथा कक्षा ८ र ९ सिनियर गरी दुई समूहमा विभाजन गरी आयोजित उक्त कार्यक्रममा हरेक कक्षाबाट उत्कृष्ट ६ जना च्याम्पियन विद्यार्थी छनोट गर्दै जम्मा ४८ जना विद्यार्थीहरुका बीचमा फाइनल च्याम्पियनसिप प्रतियोगिता गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा स्क्र्याबल क्लब अफ पोखरा अन्तर्गत भक्तपुर जिल्लाका संयोजक सिंहबहादुर लामाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका थिए। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रिन्सिपल प्रजापतिले हरेक विद्यार्थीले आफूभित्रको प्रतिभालाई प्रस्फुटन गर्न अतिरिक्त क्रियाकलाप तथा पाठगत क्रियाकलापमा जोड दिनुपर्ने कुरा बताए ।
जम्मा तीन चरण गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रतियोगीमध्ये उत्कृष्ट ६ जना जुनियर र ६ जना सिनियर गरी १२ जना विद्यार्थीहरु विद्यालय च्याम्पियन भएको र च्याम्पियनहरूमध्ये पनि जुनियर च्याम्पियन छात्र तुलज प्रजापति र सिनियर तर्फबाट सुजिना कुम्पाख उत्कृष्ट च्याम्पियन बन्न सफल भएको जानकारी विद्यालयका सहायक प्रिन्सिपल तथा भक्तपुर जिल्ला स्क्र्याबल कोर्डिनेसन समिति सदस्य प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराए ।
विद्यालयको अतिरिक्त क्रियाकलाप विभागका संयोजक शिवहरी प्रजापति ,दिपेन्द्र दंगाल ,कृष्ण पन्थी र रोशन कटुवालको संयोजनमा रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूले आफ्नो क्षमता प्रस्तुत गरेका थिए । स्मरण रहोस्, २०८० सालको भक्तपुर जिल्लाव्यापी स्क्र्यावल च्याम्पियनसिप प्रतियोगिता विनायक शिक्षा निकेतनले नै आयोजना गरेको थियो भने बारामा आयोजित राष्ट्रिय च्याम्पियनसिपमा यस विद्यालयबाट तीन जना विद्यार्थीहरु जिल्ला च्याम्पियन बन्दै सहभागी भएका थिए ।