सूर्यविनायक नगरपालिका चित्तपोलस्थित विमल मेमोरियल विद्यापीठको सम्मान समारोह तथा अभिभावक दिवस २०८० सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय ईकाइ भक्तपुरका प्रमुख कमला ज्ञवालीले विमल स्कूलको शैक्षिक उन्नयनको कामना गर्दै विद्यालयले श्रमलाई सम्मान गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । विद्यालयले शैक्षिकका साथै भौतिक क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गर्दै विद्यालयले अभिभावकको मन जितेको बताए । उनले नेपालमा युवा र विद्यार्थी नबस्ने समस्या देखिएकाले त्यतातर्फ सबै निकाय गम्भीर हुनुपर्ने बताए ।
सो अवसरमा उनले विद्यालयमा विगत १० वर्षदेखि अध्यापनरत शिक्षकहरू विद्यालयका प्रिन्सिपल कुमार थापामगर, लेखापाल संगीता खत्री, शिक्षकहरू सीता खत्री, हरि श्रेष्ठ, संजिव लुईँटेल, राजु थापा र कर्मचारी मनमती थापामगरलाई दीर्घ सेवा पदकबाट सम्मान गरेका थिए ।
विभिन्न जातजातिले लगाउने भेषभुषामा सजिएर विभिन्न गीतमा नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अभिभावकले नै आफ्ना सन्तानलाई मार्गदर्शन गर्न जरुरी रहेको बताए । उनले अहिले काम र पढाइको नाममा वौद्विक पलायन बढिरहेकोले त्यसलाई कम गर्नका लागि अभिभावक नै सचेत हुन अनुरोध गरे ।
नेशनल प्याब्सनका केन्द्रीय सदस्य जीबी खड्काले उद्यमशील र संस्कारयुक्त विद्यार्थीको जरुरी रहेकोमा जोड दिँदै जागिर खाने मनोविज्ञानका विद्यार्थीभन्दा जागिर खुवाउने जनशक्तिको जरुरी रहेको बताए ।
कार्यक्रममा विद्यालयमा नियमित उपस्थित भएकी विद्यार्थी अनु खत्री र हस्तलेखन प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूका साथै खेल सप्ताहमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष विक्रम ढुकुछु, अभिभावक सुमन कार्की, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् इन्जिनियर कमल कार्कीले बोलेका थिए ।
विद्यालयका प्रिन्सिपल कुमार थापामगरले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म ४१३ विद्यार्थी अध्ययनरत रहेको २५ शिक्षक, ५ कर्मचारी र १ चालक रहेको साथै करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिए ।