ताजा अपडेट

ट्रेन्डिङ

श्री गणेश माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

३० फाल्गुण २०८०, बुधबार
238 पटक हेरिएको
श्री गणेश माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव सम्पन्न

चाँगुनारायण नगरपालिका- ५ छालिङस्थित श्री गणेश माध्यमिक विद्यालयको ४३ औं वार्षिकोत्सव, अभिभावक दिवस, सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले चाँगुनारायण नगरपालिकामा भइरहेका अनियमित विकासले ल्याएका विकृतिबारे ध्यानाकर्षण गर्दै छालिङको जङ्गल, मुहानपोखरीको खानेपानी र वागेश्वरी मजुवास्थित वनमा भइरहेको विकासबारे नगरपालिकाको ध्यान जानुपर्ने बताए ।

‘छालिङको जङ्गल जोगाउनुपर्छ, मझुवामा रङ्गशाला बन्दा खानेपानीमा समस्या भएको छ। मुहानपोखरीलाई जलाधार क्षेत्र घोषणा गरि वातावरण जोगाउनु पर्छ’ उनले भने ।

उनले विद्यालयमा विद्यार्थी संख्या अनुसार माध्यमिक शिक्षकको दरबन्दी अभाव रहेकोमा सोको बन्दोबस्त गर्न समेत नगरपालिकाको ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सांसद सुवालले विद्यालयद्वारा प्रकाशित स्मारिका पनि विमोचन गरेका थिए ।

चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि लागिरहेको बताए । उनले संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक खाडल पुर्नका लागि शिक्षा नीति सुधारमा लागिरहेको बताउँदै संघ र प्रदेशले शिक्षा नीतिमा भएका केही कमजोरीलाई सम्वोधन गर्न जरुरी रहेकोमा जोड दिए ।

विद्यालयका प्रधानाध्याक इन्द्र फोँजूले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुच्छेभक्त फोँजूले विद्यालयको इतिहाससँगै विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कमला ज्ञवाली, चाँगुनारायण नगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर खड्का, विद्यालयका शिक्षक रामकृष्ण त्यात, पूर्व विव्यस अध्यक्ष मीनबहादुर बाटा र भूतपूर्व प्रधानाध्यापक रत्नबहादुर ह्यौमिखालगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयका संस्थापक, पूर्व विव्यसका पदाधिकारी, पूर्व प्रधानाध्यापक तथा २५ वर्ष र १० वर्ष शिक्षण सेवा गरेका शिक्षकलाई सम्मान गरिएको थियो। साथै पाठ अध्ययनमा उत्कृष्ट भएका शिक्षकहरू, अतिरिक्त खेलकुद अन्तरगतका शिक्षकहरू, उत्कृष्ट अभिभावक, कक्षागत रूपमा उत्कृष्ट विद्यार्थीलगायतलाई सम्मान गरिएको थियो ।

विद्यालयमा हाल ३२ जना कर्मचारी र शिक्षक कार्यरत छन् भने ५६० विद्यार्थी अध्ययनरत छन् ।