राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० परीक्षाको नतिजा आज अपराह्नसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।
कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेललेका अनुसार नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको छ । उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनले बताए । कुनै प्राविधिक समस्या नआएमा आज अपराह्नसम्म नतिजा प्रकाशित हुने उनले बताए ।
परीक्षा नियन्त्रक पौडेलले भने, “असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।” ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भई कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए ।
परीक्षा नियन्त्रक पौडेलले एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने जानकारी दिए ।
२०८० चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।
कार्यालयले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने जनाएकाे हो ।