संयुक्त परीक्षा समिति भक्तपुरको आयोजनामा वागीश्वरी मावि च्याह्मासिंहमा एसइई २०८० मा ३.६१ भन्दा बढी जीपीए ल्याएर उत्तीर्ण भएका विद्यार्थीहरूलाई शुभकामना तथा बधाई ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुरका सार्वजनिक माध्यमिक विद्यालय अन्तर्गत १७ ओटा विद्यालयका परीक्षार्थीहरूमध्ये ३.६१ भन्दा बढी जीपीए ल्याएर एसइई उत्तीर्ण ८९ जना विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । उच्च्च जीपीए ल्याएर उत्तीर्ण विद्यार्थीमध्ये ७४ जना वागीश्वरी माविका र बाँकी अन्य १६ विद्यालयका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईँले आफ्नो सारगर्भित मन्तव्यमार्फत् विद्यार्थीहरूलाई सुझाव दिँदै भने, “ विद्यार्थी वर्गमा इमानदारी, मानसिक तथा शारीरिक स्वास्थ्य र उत्सुकतापूर्ण सिकाइ प्रक्रिया हुनुपर्छ ।” पठन संस्कृति घटेको कुरालाई औँल्याउँदै उनले भने, “विद्यार्थीले विद्यालयमा खालि किताब र किताबै मात्र पढेर हुँदैन । उनीहरूमा सीप, कला, सामाजिक भावना, परोपकार, सेवा पनि सिकाउनुपर्छ । जीवनोपयोगी सीप सिकाउनुपर्छ । देश र राजनीति सिकाउनुपर्छ ।”
भुवनेश्वरी माविकी प्रअ शुभद्रा लघु र गणेश माविका प्रअ चन्द्रप्रकाश मैनालीले विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका थिए । परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुईले म्यानेजमेन्ट पढेर विदेश जान खोज्ने आजका कतिपय विद्यार्थीहरूको सोचाइप्रति चिन्ता व्यक्त गर्दै आफूले प्राप्त गरेको ज्ञान, सीप आफ्नै देशमा खर्च गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
वागीश्वरी माविका प्रअ श्री कृष्णप्रसाद कर्माचार्यको सभापतित्वमा भएकोे उक्त कार्यक्रममा सहायक प्रअ उकेश सुवालले स्वागत् गरेका थिए ।
शिक्षक मङ्गलेश्वर ध्वजुले सञ्चालन गरेको उक्त कार्यक्रमको बीचबीचमा विद्यार्थीहरूले गीत गायन तथा कवितावाचन गरेका थिए । प्रत्येक विद्यार्थीलाई मायाको चिनो प्रदान गरिँदै गर्दा कलाकार भाइबहिनीले मङ्गलधून बजाएर वातावरणलाई रमाइलो बनाएका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यालयमा प्रअ तथा सभापतिले विद्यालयको आगामी योजना तथा कार्यक्रम सङ्क्षिप्तरूपमा बताउँदै उपस्थित सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।