ताजा अपडेट

ट्रेन्डिङ

विनायकद्वारा घिन्ताङ घिसी नाच प्रदर्शन

Gyan Khabar

ज्ञानखबर

१० भदौ २०८१, सोमबार
323 पटक हेरिएको
विनायकद्वारा घिन्ताङ घिसी नाच प्रदर्शन

हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो चिनारी: संस्कृतिको सम्मान, हाम्रो अभियान भन्ने नारालाई सार्थक पार्न हरदम लागि परेको शिक्षा, संस्कृति र संस्कारको त्रिवेणीको रुपमा रहेको मध्यपुर थिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८१ भाद्र ९ गते घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रम गरेको छ ।

स्थानीय पाठ्यक्रमको उद्देश्य अनुसार विद्यार्थीहरूमा सांस्कृतिक रूपान्तरण तथा चेतना जागृत गर्न र हरेक संस्कृतिहरुलाई समावेशी संस्कृतिका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराए ।

विशेष गरेर गाईजात्रा पर्वको सेरोफेरोमा नेवारी समुदायमा अत्यन्तै लोकप्रिय नृत्यका रुपमा प्रदर्शन गर्दै र मनाइँदै आएको परम्परागत सांस्कृतिक नृत्य घिन्ताङ घिसी जसलाई लठ्ठी नाचको रुपमा पनि चिनिन्छ, विद्यार्थीहरुले विद्यालय परिसरबाट नाच्दै बालकुमारी मन्दिर सम्म र पुनः त्यहाँबाट बाहाखा बजार परिक्रमा गरी विद्यालय परिसरमै समापन गरिएको थियो ।

कक्षा ६ देखि १० सम्मका करिब ३०० जना विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरू सहभागी भएको उक्त नृत्य प्रदर्शन कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सहभागी भई घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल बनाएका थिए ।

विनायक इन्टरयाक्ट क्लब तथा विनायक अतिरिक्त क्रियाकलाप शाखाको संयुक्त आयोजनामा प्रस्तुत गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले हरेक जातजातिको संस्कृतिलाई संरक्षण र सम्मान गर्न समावेशी घिन्ताङ घिसी नृत्य प्रदर्शनमा कार्यक्रममा सहभागी भएको बताएका थिए ।

समापन कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरुलाई संस्कृतिको चिनारी गराउँदै सांस्कृतिक महत्व झल्काउन र संस्कृतिप्रतिको प्रेमलाई अझ सशक्त बनाउँदै प्रगतिशील सोचको रुपान्तरित शिक्षा प्रदान गर्न यी यस्ता कार्यक्रमहरु आयोजना गरिएको कुरा बताए । साथै सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा विद्यालय स्थापनाकालदेखि नै लागिपरेको कुरा बताए ।

सो घिन्ताङ हिसी नृत्य प्रतियोगिताका सहभागीहरूलाई सेवा नै ठूलो धर्म ठानी पानी पिलाउनु हुने प्रिज्मा सहकारी किसान सहकारी तथा ठिमी स्वावलम्बन सहकारी लाई विशेष धन्यवाद ज्ञापन समेत गरे ।