काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थाहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले जारी गरेको सूचना अनुसार यो छात्रवृत्ति परीक्षा प्रणालीका माध्यमबाट वितरण गरिनेछ। इच्छुक विद्यार्थीहरूले महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
आवेदन प्रक्रिया २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि सुरु हुनेछ भने आवेदन दिने अन्तिम मिति २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म तोकिएको छ। यस छात्रवृत्तिका लागि छनोट परीक्षा २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने विभागले स्पष्ट पारेको छ।
विषयहरूको अङ्कभार, विभिन्न विद्यालयमा उपलब्ध छात्रवृत्ति कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत जानकारी काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np मा उपलब्ध रहेको छ। योग्यता पुगेका सम्पूर्ण विद्यार्थीहरूलाई समयमै अनलाइन फाराम भरी यस अवसरको सदुपयोग गर्न महानगरपालिकाले अनुरोध गरेको छ।
