ताजा अपडेट

ट्रेन्डिङ

अक्स्फोर्डमा प्यानल छलफल कार्यक्रम सम्पन्न

Gyan Khabar

ज्ञानखबर

१० भदौ २०८१, सोमबार
462 पटक हेरिएको
अक्स्फोर्डमा प्यानल छलफल कार्यक्रम सम्पन्न

भक्तपुर सल्लाघारीस्थित अक्स्फोर्ड प्राक्टिकल स्कूलमा श्रावण ७ गते प्यानल छलफलको आयोजना गरेको छ । कक्षा ११ र १२ का युवा विद्यार्थी केन्द्रित ‘साइबर सुरक्षा र जिम्मेवारी’ विषयक सो अन्तरक्रियात्मक बहस कार्यक्रममा कानुनविद्, साइबर ब्युरो प्रतिनिधि, शिक्षक र विद्यार्थीहरुको हौशलापूर्ण उपस्थिती थियो ।

अक्सफोर्ड प्राक्टिकल स्कूलका प्रिन्सिपल रवि दुवालको सभाध्यक्षतामा सञ्चालित सो कार्यक्रममा सम्पदा कानुनी सेवा भक्तपुरका अध्यक्ष तथा सञ्चालक अधिवक्ता विकास त्वँजुले साइबर कानुनको बारेमा विद्यार्थीहरुलाई प्रष्ट पारेका थिए । त्यस्तै प्रहरी प्रशासनिक संगठनको तर्फबाट साइबर ब्युरो जिल्ला प्रहरी परिसर भक्तपुरबाट सहायक निरीक्षक राम राउतको उपस्थिति थियो।

विद्यार्थीहरूको प्यानलिस्ट टिममा कक्षा १२ का अनामिका बयलकोटी र कक्षा ११ का सोमबहादुर तामाङले साइबरको प्रयोगकर्ताको पक्षबाट वकालत गरेका थिए भने शिक्षक प्रतिनिधिमा शान्ता श्रेष्ठ थिए ।

त्यस्तै प्रहरी प्रशासनको पक्षबाट वकालत गर्दै कक्षा १२ र ११ बाट क्रमश: अश्लेषा बुढाथोकी र सारिका राई थिए भने वीरेन्द्र चौधरी शिक्षक प्रतिनिधिको रूपमा रहेका थिए ।

शिक्षक प्रह्लाद लम्साल समन्वयकर्ता रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले साइबर अति संवेदनशील विषय रहेको र यसको प्रयोगमा अति सजग हुन पर्ने कुराको बोध गरेका थिए ।

कानुले जे गर भनेको छ त्यो नगर्ने र जे नगर भनेको छ त्यो गर्ने व्यक्ति नै अपराधी हो भन्ने तर्क प्रस्तुत गर्दै अधिवक्ता विकास त्वँजुले साइबर अपराध गर्ने जो कोही पनि कानुनको दायरामा आउने प्रष्ट पारे ।

त्यस्तै सहायक निरीक्षक राम राउतले साइबरको सुरक्षाका विभिन्न अत्यावश्यक तरिकाहरूको बारे बुँदागत एवं अनेकन् उदाहरणीय घटनाहरूको मार्फत विद्यार्थीहरूलाई स्पष्ट पार्दै समुदाय, विद्यालय तथा कलेजहरूसँग समन्वय गरी साइबर प्रयोगकर्ताहरूको साइबर सुरक्षाका लागि र साइबर अपराध रोकथामका लागि यस किसिमका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नमा प्रहरी प्रशासनिक साइबर ब्युरो सदा कटिबद्ध रहेको समेत बताए ।

विद्यार्थी प्यानलिस्टहरूले साइबर प्रयोगकर्ता एबं प्रहरी प्रशासनको पक्षबाट छुट्टाछुट्टै वकालत गर्दै साइबरको सुरक्षात्मक उपायहरूको बारे छलफल गरेका थिए। त्यस्तै प्रयोगकर्ता स्वयं, अभिभावक, प्रहरी प्रशासन र कानुनका जानकारहरु जस्ता जिम्मेवार पक्षहरूले आपसी समन्वयकारी भूमिका खेल्नुपर्नेमा पनि छलफलले निष्कर्ष निकालेको थियो ।

दर्शकदीर्घामा उपस्थित रहेका विद्यार्थीहरू सितको सवाल जवाफ चरणमा साइबर प्रयोगकर्ता एबं संगठनले भोग्न परेको वर्तमान एवं भविष्यमा आइपर्ने चुनौतीका बारे थप छलफल भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रवि दुवालले बुँदागत रुपमा साइबर सुरक्षाको आवश्यकता, कारण र जिम्मेवार पक्षको भूमिकाबारे आफ्नो विचार प्रस्तुत गरे । साथै साइबर सुरक्षाका निम्ति अक्स्फोर्ड प्राक्टिकल स्कूल सदा जागरुक रहेको र आफ्ना विद्यार्थी तथा समुदायका निम्ति यस किसिमको चेतनामूलक कार्यक्रम सञ्चालनमा सदा तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।