ताजा अपडेट

ट्रेन्डिङ

सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

Gyan Khabar

ज्ञानखबर

३१ भदौ २०८१, सोमबार
611 पटक हेरिएको
सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयको लागि माग

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरेको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मा. मन्त्री बलराम अधिकारीसँग भेटी भक्तपुर नगरपालिकाले सञ्चालन गरिने ख्वप विश्वविद्यालय सञ्चालनको लागि नेपाल ट्रष्टको नाममा रहेको सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध गराउन सोमबार ध्यानाकर्षण गराए ।

मन्त्री अधिकारीले देशैभरि नेपाल ट्रष्टको नाममा रहेको जग्गाको खोजी कार्य भइरहेको जानकारी दिँदै ट्रष्टको नाममा रहेको जग्गा संरक्षण र सदुपयोग गर्ने नीतिअनुसार अगाडि बढिरहेको बताए । उनले नेपाल ट्रष्टको स्वामित्व कायम हुने ढंगले सल्लाघारीको १०८ रोपनी जग्गा उपयोग गर्ने विषयमा आफू सकारात्मक रहेको बताउँदै ट्रष्टको नीतिअनुसार उक्त जग्गा नगरपालिकालाई दिन मिल्ने नमिल्ने अध्ययन गरिने समेत जानकारी गराए ।

ट्रष्टको स्वामित्वमा रहेको जग्गा व्यापारिक वा सेवामूलक लिजमा दिने विषयमा आवश्यक छलफल गरिने बताउँदै मन्त्री अधिकारीले संरक्षणको अभावमा सल्लाघारीको १०८ रोपनी जग्गा दुरुपयोगको सम्भावना भएको हुँदा उक्त क्षेत्र संरक्षण र संबद्र्धन गर्न दुवै पक्षले सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

भेटमा सांसद सुवालले सल्लाघारीस्थित १०८ रोपनी जग्गाको पृष्ठभूमिबारे प्रष्ट पार्दै भक्तपुर नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालन गर्न पटक पटक सल्लाघारीको उक्त जग्गा माग गर्दै आएको बताए । उक्त क्षेत्रमा जग्गा अतिक्रमणका कारण क्षेत्रफल घटेको बताउँदै उनले भक्तपुर नपाले १०८ रोपनी जग्गा संरक्षण र संबद्र्धनको लागि पर्खाल निर्माण गरी संरक्षण र व्यवस्थापन समेत गर्दै आइरहेको प्रष्ट पारे ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले मन्त्री अधिकारीसमक्ष ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टको सहमतिमा नगरपालिकाको खर्चमा १०८ रोपनी जग्गाको चारैतर्फ पर्खाल लगाइ आवश्यकताअनुसार ५ वटा गेटको व्यवस्था गरी उक्त क्षेत्रको संरक्षण गर्दै आइरहेको बताए ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुको स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै उनले कलेज स्थापनादेखि हालसम्म ख्वप उच्च माविमा २३ हजार ७४५, ख्वप इन्जिनियरिङ कलेजमा ५ हजार ४५, ख्वप कलेजमा ८ हजार ७३३, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा १ हजार ५५४, ख्वप कलेज अफ इन्जिनियरिङमा २ हजार ६०३ र ख्वप कलेज अफ लमा १ सय २० गरी जम्मा ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भइ अध्ययन गरिसकेको तथ्यांक प्रस्तुत गरे ।

२०८० फागुन ४ गते संघीय संसद, प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट अगाडि बढाउन अनुरोधपत्र हस्तान्तरण भएको स्मरण गर्दै उनले जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयगत कलेजहरु सञ्चालन गर्दै आइरहेको बताए ।

ख्वप विश्वविद्यालय विधेयक शिक्षा मन्त्रालय, अर्थमन्त्रालय हुँदै अहिले कानुन मन्त्रालयमा विचाराधीन रहेको छ ।