ताजा अपडेट

ट्रेन्डिङ

मानिसको जीवन, उद्यमशीलता विकास र चेतना विकासको लागि योग

Gyan Khabar

ज्ञानखबर

सोम, पुस २२, २०८१
503 पटक हेरिएको
मानिसको जीवन, उद्यमशीलता विकास र चेतना विकासको लागि योग

“स्वस्थ्य समाज, समृद्द नेपाल र विश्व शान्तिका लागि योग” नाराका साथ राष्ट्रिय योग दिवस, २०८१ मनाउने निर्णय भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पौष २२ गते भएको राष्ट्रिय योग दिवस-२०८१ को मूल समारोह समितिको बैठकको अध्यक्षता गर्दै माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री विद्या भट्टराईले मानिसको जीवन, उद्यमशीलता विकास र चेतना विकासको लागि योगले एकीकृत रुपमा काम गर्ने भएको हुँदा शिक्षा र विज्ञानको क्षेत्रमा योगलाई जोड्न अपरिहार्य रहेको बताए ।

प्रविधिको उपयोगमार्फत् योगको प्रचार प्रसार गरेर प्रत्येक दिन प्रत्येक व्यक्तिले योगको अभ्यास गर्ने वातावरण तयार नभएसम्म योग दिवस मनाइरहनुपर्ने र योग दिवसले सबै सरोकारवालाहरुलाई एकठाउँ ल्याएर योगको महत्वका सम्बन्धमा अन्तर्किया गर्ने र एक आपसमा अनुभव आदानप्रदान गर्ने अवसर पनि प्रदान गरेको कुरा महत्वपूर्ण रहेको मन्त्री भट्टराईले बताए । योग दिवसले सबैलाई एकठाउँमा जोड्दै योगलाई प्रत्येक व्यक्तिको जीवनशैलीको अभिन्न अंगको रुपमा आत्मसात गर्ने प्रेरणा जगाउने विश्वास समेत व्यक्त गरे ।

मानिस चेतनशील प्राणी हो र यो चेतनशीलतालाई कायम राख पुनर्ताजगी गर्न समेत योगको महत्व रहेको हुँदा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रम र अभ्यासहरुमा योगलाई जोडेर जानेतर्फ मन्त्रालयले थप गृहकार्य गर्ने र यौगिक एवं आध्यात्मिक क्षेत्रमा सकृय संघ संस्थाहरुसँग सहकार्य गरेर आगामी दिनमा मन्त्रालय अगाडी बढ्ने प्रतिवद्धता समेत मन्त्री भट्टराईले व्यक्त गरे ।

बैठकमा मन्त्रालयका सचिव, सहसचिवहरु, विभागीय प्रमुखहरु तथा योग ध्यानको क्षेत्रमा क्रियाशील ६० भन्दा बढी योगिक एवं आध्यात्मिक संस्थाहरुको सहभागिता रहेको थियो । नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७२ श्रावण १८ गतेको निर्णयबाट प्रत्येक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको संयोजनमा मनाउने निर्णय भएको थियो ।

योगको महत्व अर्थात व्यक्तिको शरीर, मन, भावना र चेतनाको विकास र शुद्धीकरणका लागि योग अनिवार्य रहेको कुरा उल्लेख गर्दै योग हाम्रो जीवन पद्धति बन्नुपर्ने, हरेक विद्यालय र वालवालिकाहरुमा योगको अभ्यास हुनुपर्ने, विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा नै उमेर सुहाउँदो व्यावहारिक योगको विषय समावेश गरी अभ्यासलाई बढाउनुपर्ने, योग पर्यटनको विकास मार्फत नेपाललाई अन्तर्राष्ट्रिय योग पर्यटनको केन्द्रको रुपमा स्थापित गर्नुपर्ने, नेपाललाई विश्व योग गुरुको रुपमा स्थापित गर्नुपर्ने, व्यक्तिको आन्तरिक क्षमता, आत्मबल र आत्मविश्वास जगाउन योगले मद्दत गर्ने, योगले सकारात्मक सोचको विकास गर्ने आत्मशुद्धि आत्मचिन्तनमार्फत आत्मविकासमा समेत योगले मद्दत गर्ने भएकोले योगको यो गरिमा बुझाउन र वर्षभरि नै हरेक दिन योगध्यान गर्ने जीवनशैली सबैले विकास गर्न प्रेरित गर्ने किसिमले यस वर्षको राष्ट्रिय योग दिवस भव्य रुपमा मनाउन सबै योगध्यानसँग सम्बन्धित संघसंस्था संचार क्षेत्र, प्रदेश र स्थानीय सरकार, संघीय सरकारका विभिन्न निकायहरु र विदेशस्थित कुटनैतिक नियोगहरुलाई अनुरोध गर्ने सम्बन्धमा विभिन्न वक्ताले आफ्नो भनाइ राखेका थिए ।

FB IMG 1736214953141

व्यक्तिको आन्तरिक शान्ति र बाहिरी समृद्धि, राष्ट्रको आन्तरिक शान्ति र बाहिरी समृद्धि हुँदै विश्वकै आन्तरिक शान्ति र बाहिरी समृद्धिमा योगले महत्वपूर्ण योगदान पुर्याउने साथै शान्ति र समृद्धिको योग नै योगमार्फत हुने धारणाहरु बैठकमा प्रस्तुत भएका थिए ।बैठकमा विज्ञान तथा प्रविधि सचिव विश्वबाबू पुडासैनीले योगले व्यक्तिमा सकारात्मक सोचको विकास गर्ने र यसले समग्र जीवनपद्धतिमा सुधार ल्याउने भएकोले सँधैभरि योगको प्रयोग गर्ने र आदर्श वाक्य चयन गर्दा संक्षिप्त तर व्यापक अर्थ दिने गरी चयन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।