शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बहुप्रतिक्षित विद्यालय शिक्षा विधेयकलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्ने बताएकी छिन्। सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत गठित विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिको बैठकमा आफ्नो धारणा राख्दै मन्त्री भट्टराईले यो विधेयक सबैको चासो र प्रतीक्षाको विषय भएकोले यसलाई निष्कर्षमा पुर्याउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिइन्।
उनले विधेयकको जटिलतालाई स्वीकार गर्दै सबैको समन्वय र सहकार्यबाटै यसलाई टुङ्ग्याउन सकिने विश्वास व्यक्त गरिन्। उपसमितिले ३५ दिनको कार्ययोजना बनाएर काम थालेकोमा खुसी व्यक्त गर्दै मन्त्री भट्टराईले सहज विषयमा तत्काल सहमति जुटाएर जटिल विषयमा गहन छलफल र संवाद गर्नुपर्ने बताइन्।
“यो विधेयक असाध्यै पेचिलो छ र सबैले आशा गरेको, कहिले आउँछ भनेर सबै प्रतिक्षारत भएको विधेयक रहेको हुँदा हामीले ३५ दिनको कार्य योजना बनाएर काम सुरु गरेका छौँ,” मन्त्री भट्टराईले भनिन्, “जे विषय सहज छन्, त्यसलाई यो यो दफामा छलफल गरेका छौँ भनेर सन्देश दिन पनि जरुरी छ। जे विषयमा संवाद आवश्यक हुन्छन्, विषय सुरु गर्ने र संवादका लागि कहाँ कहाँबाट सहजीकरण हुन्छ, त्यसको लागि मैले मन्त्रालयको हिसाबले गर्नुपर्ने हिसाबमा सहजीकरण गर्न तयार छु।”
मन्त्री भट्टराईले विधेयकलाई समयमै टुङ्ग्याउन उपसमिति, समिति र मन्त्रालयबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको औंल्याइन्। यस विधेयकले विद्यालय शिक्षा क्षेत्रमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ। अब उपसमितिले कति छिटो सहमति जुटाएर विधेयकलाई पूर्णता दिन्छ, त्यो हेर्न बाँकी छ।