ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा औद्योगिक प्रवद्र्धन र स्थानीय सीप मेला आयोजना हुँदै

Gyan Khabar

ज्ञानखबर

बुध, असार ४, २०८२
300 पटक हेरिएको
भक्तपुरमा औद्योगिक प्रवद्र्धन र स्थानीय सीप मेला आयोजना हुँदै

भक्तपुरको मौलिक कला, सीप र उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला आयोजना हुने भएको छ। यो वृहत् मेला २०८२ असार ६, ७ र ८ गते भक्तपुर नगरपालिका, कमलविनायकस्थित स्टार बैंक्वेटमा सञ्चालन हुनेछ।

पहिलो दुई दिन, असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला आयोजना हुनेछ भने असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला सञ्चालन गरिनेछ। यस मेलाको मुख्य उद्देश्य भक्तपुर जिल्लाको उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवद्र्धन गरी समग्र जिल्लाको आर्थिक विकासमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ।

मेलामा करिब ५० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा मौलिक हस्तकलाका उत्पादनहरू, कृषि उत्पादनहरू, साना तथा मझौला उद्यमीहरूद्वारा उत्पादित सामग्रीहरू, चित्रकला, मूर्तिकलाको प्रदर्शनी लगायतका ४० भन्दा बढी स्टलहरू रहनेछन्। यी सबै स्टलहरूको बुकिङ शत प्रतिशत भइसकेको छ, जसमा भक्तपुर जिल्लाका साथै छिमेकी जिल्लाका उद्यमीहरूको पनि उल्लेखनीय सहभागिता रहनेछ।

मेलाको विशेष आकर्षणमध्ये एक स्थानीय सीप हस्तान्तरण तथा जगेर्ना गर्ने उद्देश्यले हस्तकलाका सामग्री निर्माण, पौभा पेन्टिङ, मुकुण्डो बनाउने, माटोका भाडाकुँडा बनाउने, चित्र, मूर्ति बनाउने कार्यहरूको प्रत्यक्ष प्रदर्शनी हुनेछ। आगन्तुकहरूले कलाकार र कालीगढहरूले प्रत्यक्ष रूपमा कसरी यी सुन्दर सामग्रीहरू बनाउँछन् भन्ने अवलोकन गर्न पाउनेछन्। साथै, मेलामा स्थानीय खानाका स्टलहरू र बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको पनि व्यवस्था गरिएको छ।

यस मेलामा आन्तरिक तथा बाह्य पर्यटकहरू, दैनिक उपभोग्य सामग्रीका उपभोक्ताहरू, हस्तकला व्यवसायीहरू, थोक तथा खुद्रा व्यवसायीहरू, विभिन्न संघसंस्थाहरू, सरकारी निकायहरू, स्थानीय खानाका पारखीहरू, बैंक, वित्तीय संस्था र सहकारी संस्थाहरू, विद्यार्थीहरू लगायतका लक्षित आगन्तुकहरू रहेका छन्।

मेला अवधिभर प्रदर्शन गरिएका सामग्रीहरूको सुरक्षाका लागि २४ सैं घण्टा सुरक्षा गार्डहरू खटिनेछन् भने रु. १ करोडसम्मको बीमा व्यवस्था गरिएको छ। मेला व्यवस्थापनका लागि स्वयंसेवकहरू पनि परिचालन गरिनेछन्।

नेपाल उद्योग वाणिज्य महासंघ यस मेलाको सहयोगी निकाय रहेको छ भने चाँगुनारायण नगरपालिका कार्यालय प्रवद्र्धकका रूपमा रहेको छ। इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्राइभेट लिमिटेडले मेला व्यवस्थापनको जिम्मेवारी लिएको छ।

मेला अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै, मेला अवधिभर प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म रक्तदान कार्यक्रम पनि सञ्चालन गरिनेछ।