ताजा अपडेट

ट्रेन्डिङ

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ

Gyan Khabar

ज्ञानखबर

बिहि, माघ १, २०८२
98 पटक हेरिएको
ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले आफ्नो सेवालाई थप आधुनिक र प्रविधिमैत्री बनाउँदै सिटी स्क्यान (CT Scan) सेवा सञ्चालनमा ल्याएको छ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले बिहीबार एक विशेष समारोहका बिच यस सेवाको समुद्घाटन गर्नुभयो।

बागमती प्रदेश सरकारको ५ करोड अनुदान र भक्तपुर नगरपालिकाको ६ करोड गरी कुल ११ करोड रुपैयाँको लागतमा जडान गरिएको यो अत्याधुनिक मेसिनले भक्तपुर र आसपासका जिल्लाका बिरामीहरूका लागि उच्चस्तरीय प्रविधिमा पहुँच सुनिश्चित गरेको छ।

सेवाको शुभारम्भ गर्दै अध्यक्ष बिजुक्छेँले अस्पतालमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी बढीभन्दा बढी जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले गुणस्तरीय स्वास्थ्य सेवा सहज ढङ्गले उपलब्ध गराउन चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभयो। शासक दलहरूको अदूरदर्शिताका कारण देशको स्वास्थ्य अवस्था कमजोर रहेको टिप्पणी गर्दै उहाँले ख्वप अस्पतालले दिने सेवाले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

नगर प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालले भक्तपुरबासीको मात्र नभई ७० वटा जिल्लाका बिरामीहरूलाई राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। संवैधानिक रूपमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने भए पनि बीमा सेवा बन्द हुँदा विपन्न वर्ग मारमा परेको उहाँको भनाइ थियो। ख्वप अस्पतालले जनताको अस्पतालका रूपमा सस्तो र भरपर्दो सेवा दिएर जनताको विश्वास जित्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र उपप्रमुख रजनी जोशीले अस्पतालले भूकम्प र कोभिड जस्ता कठिन समयमा पनि उदाहरणीय कार्य गरेको स्मरण गर्नुभयो। नयाँ उपकरणहरूको विस्तारले अस्पतालको उपचार पद्धतिलाई थप विश्वसनीय बनाएको उहाँहरूको ठम्याइ छ।

अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अब अन्त्य भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले आजको समयमा ८० प्रतिशत उपचार मेसिनमा आधारित हुने भएकाले अस्पताललाई समयसापेक्ष सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो।