सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ‘प्राकृतिक स्रोतमा आधारित उद्यममा जलवायु वित्तको भूमिका: चुनौती र अवसर’ विषयक एकदिने गोष्ठी भव्य रूपमा सम्पन्न भएको छ। फरेस्ट एक्सन नेपालको आयोजनामा शुक्रबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सरोकारवालाहरूले प्राकृतिक स्रोतको दिगो उपयोग र जलवायुमैत्री लगानीमा जोड दिएका छन्।
गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले स्थानीय स्तरमा रहेका प्राकृतिक स्रोतहरूलाई उद्यममा बदल्न जलवायु वित्तको ठूलो भूमिका रहने बताउनुभयो। उहाँले पालिकाभित्रका उद्यमीहरूलाई प्रविधि र पुँजीसँग जोड्न यस्ता छलफलहरू कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष गीता नेपाल, फरेस्ट एक्सन नेपालकी बोर्ड वरिष्ठ उपाध्यक्ष कञ्चन लामा, र सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) सिन्धुपाल्चोकका उपाध्यक्ष एवं हरित स्वयंसेवक संयोजक शारदा प्रसाद चालिसेको उपस्थिति रहेको थियो। अतिथिहरूले बन र वातावरण संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्न महिला उद्यमीहरूको सक्रियता सराहनीय रहेको उल्लेख गर्नुभयो।
गोष्ठीको मुख्य सत्रमा प्रशिक्षक डा. मिना बोहराले प्राकृतिक स्रोत वित्तका चुनौती, अवसर र हालको विश्वव्यापी तथा स्थानीय अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाका उद्यम शाखा प्रमुख ओम तामाङले पालिकाको तर्फबाट आगामी दिनमा जलवायु वित्तलाई कसरी परिचालन गर्ने भन्नेबारे भावी योजनाहरू प्रस्तुत गर्नुभयो।
कार्यक्रममा फरेस्ट एक्सन नेपालका फिल्ड संयोजक कमल भण्डारीले संस्थाले विगत ४ वर्षदेखि सिन्धुपाल्चोक जिल्लामा वनमा आधारित महिला उद्यम र उनीहरूको जीविकोपार्जन सुधारका क्षेत्रमा गरिरहेका कार्यहरूबारे प्रकाश पार्नुभयो।
सिर्जना सिग्देलले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको उक्त गोष्ठीमा गाउँपालिका भित्रका उद्यमी, वित्तीय संस्थाका प्रतिनिधि, स्थानीय व्यापारी र जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्दै वन पैदावारमा आधारित उद्यमलाई व्यावसायिक बनाउन लगानीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन्।