रामेछापको सुनापति गाउँपालिका–५, भिरकोटस्थित श्री बाल माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ‘स्वर्ण जयन्ती समारोह–२०८२’ ऐतिहासिक भव्यताका साथ सम्पन्न गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु लामाको सभाध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयको विकासमा अतुलनीय योगदान पुर्याउने जग्गादाता, संस्थापक, पूर्व अध्यक्षहरू र पूर्व प्रधानाध्यापकहरूलाई उच्च सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा समाजसेवी द्वय पुताली तामाङ र देवेन्द्र मानन्धर, शिक्षासेवी दल बहादुर बल, बनेपाको करुणामय मानव सेवा विकास समाज लगायत शिक्षक तथा कलाकारहरू रहेका थिए।
समारोहका अवसरमा शिक्षा विकासका लागि महत्वपूर्ण आर्थिक सहयोगको समेत घोषणा गरिएको छ। डहु मा.वि.का प्रधानाध्यापक दल बहादुर बलले विद्यालयको बाल कल्याणकारी कोषका लागि ५०,५५५ रुपैयाँ र करुणामय मानव विकास सेवा समाज काठमाडौंले ४७,२०० रुपैयाँ प्रदान गरेका छन्। उक्त सहयोगप्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गरेको छ।
समारोहको उद्घाटन प्रमुख अतिथि सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले गर्नुभएको थियो भने विशेष अतिथिको रूपमा उपाध्यक्ष गीता विष्ट रहनुभएको थियो। कार्यक्रममा स्काउटको विशेष प्रस्तुति, ताम्बाहरूको भव्य स्वागत, र स्थानीय धिमे बाजाको धूनले भिरकोटको वातावरण गुञ्जायमान बनेको थियो। विद्यार्थीहरूले विभिन्न नृत्य तथा शैक्षिक प्रदर्शनीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

प्रधानाध्यापक चक्र बहादुर मानन्धरले विद्यालयले ५० वर्षदेखि गुणस्तरीय र व्यावहारिक शिक्षा दिँदै आएको र पछिल्लो समय थुप्रै शैक्षिक उपलब्धि हासिल गरेको दाबी गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, शिक्षा शाखा प्रमुख कमल बहादुर बम, वडाध्यक्ष चित्र बहादुर मानन्धर लगायत विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन माइकल लामा मोक्तानले गर्नुभएको थियो।
