ताजा अपडेट

ट्रेन्डिङ

त्रिवि र विद्यार्थीबीच ऐतिहासिक सम्झौता: अब सय दिनभित्रै नतिजा आउने र सबै सेवा डिजिटल हुने

Gyan Khabar

ज्ञानखबर

मङ्ल, माघ १३, २०८२
165 पटक हेरिएको
त्रिवि र विद्यार्थीबीच ऐतिहासिक सम्झौता: अब सय दिनभित्रै नतिजा आउने र सबै सेवा डिजिटल हुने

त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा वर्षौँदेखि कायम रहेको ढिलासुस्ती र प्रशासनिक झमेला अन्त्य हुने संकेत देखिएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय र स्वतन्त्र विद्यार्थी युनियन, विश्वविद्यालय क्याम्पस बीच माघ १३ गते सोमबार एक विशेष समझदारी भएको छ, जसले विद्यार्थीहरूका लागि राहतको नयाँ बाटो खोलेको छ।

सहमतिको अनुसार अबदेखि त्रिविले सञ्चालन गर्ने परीक्षाहरूको नतिजा कुनै ठुलो प्राविधिक अवरोध नभएमा परीक्षा सम्पन्न भएको सय दिनभित्रै सार्वजनिक गरिने प्रतिबद्धता जनाइएको छ। यसका साथै शैक्षिक क्यालेन्डरलाई पूर्ण रूपमा पालना गर्दै विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने अठोट पनि दुवै पक्षले गरेका छन्।

प्रविधिको प्रयोगमा पनि यो सहमति निकै अगाडि देखिएको छ। अब विद्यार्थीहरूले सामान्य कामका लागि पनि लामो समय लाइन बस्नुपर्ने बाध्यता हट्नेछ। परीक्षा नियन्त्रण कार्यालयले आफ्ना सम्पूर्ण सेवाहरूलाई डिजिटल मैत्री बनाउने र अनलाइन प्रणाली मार्फत क्यूआर कोड प्रयोग गरी शुल्क तिर्न सकिने व्यवस्था मिलाउने भएको छ। तत्कालका कामहरूको लागि कार्यालयमा टोकन प्रणाली लागू गरिनेछ भने कागजपत्रहरूलाई पनि बिस्तारै पूर्ण रूपमा डिजिटलाइज गरिनेछ।

प्रशासनिक सुलभताका लागि काठमाडौँ केन्द्रित सेवाहरूलाई अब क्षेत्रीय कार्यालयहरूमा विस्तार गरिने भएको छ। मौका परीक्षाहरू क्षेत्रीय स्तरमै सञ्चालन गर्ने र पुनर्योगको नतिजा आवेदन दिएको तीस दिनभित्रै निकाल्ने सहमतिले मोफसलका विद्यार्थीहरूलाई ठुलो राहत मिल्ने देखिन्छ। पुनर्योग शुल्कका सम्बन्धमा पनि पुनरावलोकनको प्रक्रिया अघि बढाइने भएको छ।

विश्वविद्यालय क्याम्पसका स्ववियु पदाधिकारीहरू र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू बीच भएको यो समझदारी पछि विद्यार्थीहरूले गर्दै आएका धर्ना र दबाबका सम्पूर्ण कार्यक्रमहरू फिर्ता भएका छन्। परीक्षा नियन्त्रक प्रा.डा. लक्ष्मण पौडेलको रोहबरमा भएको यो सम्झौताले त्रिविको शाख जोगाउन र विद्यार्थीको भविष्य सुनिश्चित गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

Tugkcon1

Tucongk2