भक्तपुरका महिलाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ आयोजित १० दिने ‘नेल आर्ट’ तालिम भव्य रूपमा सम्पन्न भएको छ।
भक्तपुर घरेलु तथा साना उद्योग संघ, महिला उद्यमी समितिको आयोजनामा संचालित उक्त तालिमको समापन गर्दै प्रमुख अतिथि एवं उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले सहभागीहरूलाई सीपलाई उद्यममा बदल्न आग्रह गर्नुभयो। उहाँले केवल किताबी ज्ञानमा मात्र सीमित नभई हातमा सीप लिएर जीवनमा लागू गर्नुपर्नेमा जोड दिँदै सानो स्तरबाटै भए पनि उद्यमी बन्ने सपना देख्न सहभागीहरूलाई उत्साहित बनाउनुभयो।
तालिम समापनको अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले संघले सधैँ व्यावसायिक विकासका लागि विभिन्न संस्थाहरूसँग हातेमालो गर्दै आएको बताउनुभयो। उहाँले तालिम लिएका सहभागीहरूलाई व्यवसाय सुरु गर्दा आइपर्ने दर्ता लगायतका प्रशासनिक प्रक्रियामा संघले पूर्ण रूपमा सहजीकरण गरिदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
त्यसैगरी ‘गो लोकल’का संयोजक विरेन्द्र जतिले तालिम लिएर विदेशिने प्रचलनलाई निरुत्साहित गर्दै आफ्नै माटोमा उद्यम गर्न अनुरोध गर्नुभयो। उद्योग दर्ता गरेर व्यवसाय सञ्चालन गर्दा सरकारबाट पाइने विभिन्न सेवा सुविधाहरूको बारेमा जानकारी दिँदै उहाँले उद्यमी बन्दा समाजमा छुट्टै इज्जत र पहिचान स्थापित हुने धारणा राख्नुभयो। स्वदेशमै पसिना बगाउन सके मात्रै देशको अर्थतन्त्र बलियो हुने र व्यक्तिगत जीवनमा पनि समृद्धि छाउने उहाँको तर्क थियो।
प्रशिक्षक सृजना प्रजापतिले नेल आर्टको सीप निरन्तरको अभ्यासमा निर्भर रहने भएकाले घरमा पनि यसलाई जारी राख्न सुझाव दिनुभयो। प्रशिक्षार्थीहरूको तर्फबाट मनिषा सैंजु र करिना प्याठले १० दिनको अवधिमा आफूहरूले व्यावसायिक रूपमा काम गर्न सक्ने आत्मविश्वास बटुलेको अनुभव सुनाउनुभयो। सहभागीहरूले यस प्रकारको तालिमले महिलाहरूलाई घरको चौघेराबाट बाहिर निस्केर आर्थिक उपार्जनमा लाग्न ठुलो ऊर्जा प्रदान गरेको बताएका थिए।
कार्यक्रमका सभापति तथा महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले नेल आर्टको माग पछिल्लो समय बढ्दो रहेकाले घरमै बसेर वा घर-घरमा पुगेर पनि सेवा दिन सकिने सम्भावनाबारे प्रकाश पार्नुभयो। उहाँले यस तालिमको सफलतासँगै निकट भविष्यमा नै यसको ‘एडभान्स कोर्स’ समेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिँदै महिलाहरूलाई निरन्तर सीप विकासमा लाग्न प्रेरित गर्नुभयो।