मध्यपुर ठिमीको अग्रणी शैक्षिक संस्था विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले “शिक्षा जीवनका लागि र खेलकुद अनुशासनका लागि” भन्ने गरिमामय मान्यतालाई आत्मसात् गर्दै आफ्नो वार्षिक प्रतियोगितात्मक खेलकुद मेला २०८२ भव्यताका साथ सम्पन्न गरेको छ। यही माघ १३ गतेदेखि १५ गतेसम्म सञ्चालित यस त्रिदिवसीय खेल उत्सवमा विशेषगरी कक्षा ११ र १२ का विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्वमा सम्पन्न यस विशेष कार्यक्रमलाई नेपाली फुटबल जगतका प्रख्यात व्यक्तित्व एवं पूर्व राष्ट्रिय कप्तान उपेन्द्र मानसिंहले प्रमुख अतिथिको रूपमा शोभा बढाउनुभएको थियो। खेलकुद मेलामा विद्यार्थीहरू बीच टेबल टेनिस, ब्याडमिन्टन, टग अफ वार र फुट्सल जस्ता प्रतिस्पर्धात्मक खेलहरू सञ्चालन गरिएका थिए।
प्लस टु संयोजक तुलसीहरी प्रजापतिको कुशल संयोजनमा अघि बढेको उक्त कार्यक्रममा सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला र राष्ट्रिय फुट्सल खेलाडी जेनिस प्रजापतिले समेत अतिथिको रूपमा उपस्थित भई विद्यार्थीहरूको हौसला बढाउनुभएको थियो। कार्यक्रमको सुखद समापनको अवसरमा प्रमुख अतिथि उपेन्द्र मानसिंहले विभिन्न विधाका विजयी तथा उत्कृष्ट खेलाडीहरूलाई मेडल, प्रशंसा–पत्र र शिल्ड प्रदान गर्दै उनीहरूको खेल भावनाको उच्च कदर गर्नुभयो।
सोही अवसरमा बोल्दै संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयले स्थापना कालदेखि नै विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राखेको कुरामा जोड दिनुभयो। उहाँले खेलकुदको माध्यमबाट अनुशासित र आत्मनिर्भर नागरिक तयार गर्ने लक्ष्यका साथ अघि बढेको विनायक निकेतनले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू समेत उत्पादन गर्न सफल भइसकेको तथ्य गौरवका साथ व्यक्त गर्नुभयो।
