काठमाडौँको थापाथलीस्थित चेस पार्कमा फागुन ७ गते सम्पन्न भएको ‘नेपाल इको प्यानल चेस फर अल’ फिडे र्यापिड १७०० मुनि रेटिङ प्रतियोगितामा मोरङका भरत धिमालले उपाधि चुमेका छन्। कूल ९ चरणसम्म चलेको यस अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा धिमालले उत्कृष्ट प्रदर्शन गर्दै ७.५ अंक जोडेर प्रथम स्थान हासिल गरेका हुन्। देशभरका ४२ जिल्लाबाट आएका १४८ जना खेलाडीहरूका साथै भारतका दुई खेलाडीको सहभागिताले यस प्रतियोगितालाई निकै रोचक र क्षेत्रीय स्तरकै गरिमामय बनाएको थियो।
प्रतियोगिताको नतिजा निकै कडा रह्यो जहाँ शीर्ष पाँच खेलाडीहरूले समान ७.५ अंक प्राप्त गरेका थिए। तर प्राविधिक टाइब्रेकका आधारमा इटहरीका नारायण हरि श्रेष्ठ द्वितीय, दमकका उज्ज्वल दाहाल तृतीय, टोखा काठमाडौँका आवाश तिवारी चौथो र डाँछी काठमाडौँका अमृत नगरकोटी पाँचौँ स्थानमा रहन सफल भए। विजेता धिमालले नगद १० हजार रुपैयाँका साथै आकर्षक ट्रफी र मेडल प्राप्त गर्दा अन्य शीर्ष विजेताहरूले पनि क्रमशः ७ हजार, ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार हात पारे।
विधागत तर्फको प्रतिस्पर्धामा पनि अनुभवी र नयाँ प्रतिभाहरूको उत्साहजनक उपस्थिति देखियो। महिला तर्फ पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी उत्कृष्ट बनिन् भने ५५ वर्षमाथिको भेट्रान विधामा पञ्चकुमार साहुले बाजी मारे। युवा विधा अन्तर्गत १६ वर्ष मुनि हर्षवर्धन राठी, १४ वर्ष मुनि अभिलाष भण्डारी र १२ वर्ष मुनि साहस श्रेष्ठ पुरस्कृत भए। त्यसैगरी रेटिङ तर्फ अपिल गुरुङले १६०० मुनि र दिपन मैनालीले १५०० मुनि उत्कृष्ट खेल प्रदर्शन गरे भने सुहित मान श्रेष्ठले उदीयमान खेलाडीको पुरस्कार प्राप्त गरे।
पुरस्कार वितरण समारोहमा नेपाल इको प्यानलका सिइओ इन्जिनियर कृष्णभक्त दुवालले खेलकुद र वातावरणमैत्री सोचलाई सँगै लैजानु आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले १७०० मुनि रेटिङ भएका तर क्षमतावान खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव सँगाल्ने र आफ्नो खेल कौशल निखार्ने ठूलो अवसर दिने कुरामा जोड दिनुभयो।
आयोजक थापाथली पार्क चेस क्लबका अध्यक्ष सानुराज बज्राचार्यले प्रतिस्पर्धाको भव्य सफलताले नेपाली चेस क्षेत्रमा नयाँ ऊर्जा थपेको विश्वास व्यक्त गर्नुभएको छ। मुख्य निर्णायक आईए ज्ञानेन्द्र खाइजुको नेतृत्वमा सम्पन्न यस दुई दिने प्रतिस्पर्धामा आईए मनोज घिमिरे, फिडे आर्विटर सोराज ताम्राकार र एनए असुन राजकर्णीकार लगायतले प्राविधिक सहयोग पुर्याउनुभएको थियो।