ताजा अपडेट

ट्रेन्डिङ

सिरुटारमा निःशुल्क आयुर्वेदिक शिविर सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, फाल्गुन ७, २०८२
19 पटक हेरिएको
सिरुटारमा निःशुल्क आयुर्वेदिक शिविर सम्पन्न

सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयको प्राङ्गणमा फागुन ६ गते एकदिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सिरुटार वडास्तरीय जेष्ठ नागरिक समिति र आयुर्वेद परामर्श सेवा, चित्रपुरको संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो।

शिविरमा सिरुटार, बालकोट, दधिकोट तथा लुभु क्षेत्रका १५८ जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका थिए। कार्यक्रमको मुख्य आकर्षणका रूपमा ९७ वर्षीय जेष्ठ नागरिक पुनकुमार कायस्थले समेत सहभागी भई स्वास्थ्य जाँच गराउनुभएको थियो। सहभागीहरूलाई विशेषज्ञ परामर्शसँगै आवश्यकता अनुसार निःशुल्क आयुर्वेदिक औषधि समेत वितरण गरिएको आयोजकले जनाएको छ।

शिविरमा आयुर्वेद विशेषज्ञहरू डा. सबरी शाह, डा. विजय कुशबाह र डा. किरिति राउतको टोलीले बिरामीको परीक्षण गरेको थियो। सो अवसरमा डा. शाहले ८० प्रतिशत रोग खानपान र जीवनशैलीका कारण लाग्ने उल्लेख गर्दै उपचारसँगै जनचेतना जगाउनु शिविरको मुख्य लक्ष्य रहेको बताउनुभयो। विद्यालयकी प्रधानाध्यापक मञ्जु बस्नेतले आयुर्वेदिक पद्धतिको दीर्घकालीन फाइदाबारे प्रकाश पार्दै धैर्यताका साथ औषधि सेवन गर्न सुझाव दिनुभयो।

जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष बाबुशरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य लक्षित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

शिविर सफल पार्न सूर्यविनायक नगरपालिका–१ को वडा कार्यालय, नशा: धिमे खल:का अध्यक्ष प्रेमकृष्ण श्रेष्ठ, श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेशनका अध्यक्ष चन्द्रहरि कायस्थ र स्थानीय स्वयंसेवकहरूको महत्वपूर्ण सहयोग रहेको थियो। सचिव बालकृष्ण श्रेष्ठले सञ्चालन गर्नुभएको यस कार्यक्रमले स्थानीय स्तरमा आयुर्वेदिक उपचारप्रति आकर्षण र विश्वास बढाएको सहभागीहरूले महसुस गरेका छन्।