ताजा अपडेट

ट्रेन्डिङ

वागीश्वरीको वार्षिकोत्सव तयारी तीव्र; शिक्षक-कर्मचारी भेला सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, फाल्गुन ८, २०८२
136 पटक हेरिएको
वागीश्वरीको वार्षिकोत्सव तयारी तीव्र; शिक्षक-कर्मचारी भेला सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक रूपान्तरणमा यहाँका अग्रजहरूको योगदान अतुलनीय रहेको बताउनुभएको छ। वागीश्वरी माध्यमिक विद्यालयको ६७ औँ, वागीश्वरी कलेजको १८ औँ तथा वागीश्वरी कलेज अफ म्यानेजमेन्टको तेस्रो वार्षिकोत्सवको तयारीका लागि शनिबार आयोजित शिक्षक कर्मचारीहरूको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

प्रमुख प्रजापतिले भक्तपुर अहिले शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्ने देशकै प्रमुख थलोको रूपमा विकास भइरहेको चर्चा गर्नुभयो। शिक्षामा धेरै पछाडि परेको भक्तपुरलाई आजको उचाइसम्म पुर्‍याउन सामुदायिक तथा संस्थागत विद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नेतृत्वकर्ताहरूको सही मार्गनिर्देशन र बन्द हडतालमा पनि निर्वाध रूपमा शिक्षण गतिविधि सञ्चालन हुनु नै सफलताको कडी भएको बताउनुभयो।

देशको वर्तमान शिक्षा नीतिको आलोचना गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको ‘ख्वप विश्वविद्यालय’ सञ्चालन गर्ने सपना एक न एक दिन अवश्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले वागीश्वरीको शैक्षिक उन्नयन आज देशभरि चर्चा र गौरवको विषय बनेको बताउनुभयो। उहाँले विद्यालय र कलेजलाई अझ उचाइमा पुर्‍याउन सबै शिक्षक र कर्मचारीहरूको मेहनत आवश्यक रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, वागीश्वरी कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका सदस्य ज्ञानसागर प्रजापति र सहायक प्रअ उकेश सुवालले वार्षिकोत्सवलाई सभ्य र भव्य रूपमा सफल पार्न सबैको संयुक्त प्रयास, साथ र सहयोगको अपिल गर्नुभएको थियो। वागीश्वरीले हासिल गरेको साखलाई जोगाउँदै अझ गुणस्तरीय शिक्षा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको उनीहरूले बताए।

FB IMG 1771639198350

भक्तपुरको शैक्षिक इतिहासमा छुट्टै पहिचान बनाएको वागीश्वरीले आफ्नो वार्षिकोत्सवलाई भव्य बनाउन विभिन्न कार्यक्रमहरूको तयारी गरिरहेको छ।