ताजा अपडेट

ट्रेन्डिङ

शिक्षालाई जीवनोपयोगी बनाउँदै गोल्डेन गेट: मनाइयो ३९ औं वार्षिकोत्सव

Gyan Khabar

ज्ञानखबर

आइत, माघ १८, २०८२
223 पटक हेरिएको
शिक्षालाई जीवनोपयोगी बनाउँदै गोल्डेन गेट: मनाइयो ३९ औं वार्षिकोत्सव

भक्तपुरको महाकालिस्थानस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलले आफ्नो स्थापनाको ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध रचनात्मक कार्यक्रमहरुका साथ सम्पन्न गरेको छ। विद्यालयको नवनिर्मित ‘प्राईमरी प्यालेस’ को सभाहलमा आयोजित उक्त समारोहको अध्यक्षता संस्थाकी संस्थापक निर्देशक अञ्जु जोशीले गर्नुभएको थियो।

कार्यक्रमको समुद्घाटन गर्नुहुँदै प्रमुख अतिथि एवं राष्ट्रिय परीक्षा बोर्डका निवर्तमान अध्यक्ष डा. महाश्रम शर्माले विद्यालयले अवलम्बन गरेको आधुनिक शिक्षण पद्धतिको उच्च प्रशंसा गर्नुभयो। उहाँले विद्यार्थीहरूको सिकाई चरणबद्ध हुने भए पनि बिर्सने क्रम निकै तीव्र हुने तथ्यलाई ध्यानमा राखेर विद्यालयले कार्यान्वयन गरेको ‘लर्निङ कर्भ’ मा आधारित विष्मरण प्रतिरोधी सिकाई प्रणाली अन्य शिक्षण संस्थाहरुका लागि समेत अनुकरणीय रहेको बताउनुभयो।

डा. शर्माले केवल सैद्धान्तिक ज्ञानमा आधारित भएर ‘४ जिपिए’ ल्याउने होडबाजीभन्दा पनि पाठ्यक्रमलाई वास्तविक जीवन र अनुभवसँग जोड्ने गोल्डेन गेटको प्रयास उदाहरणीय रहेको उल्लेख गर्नुभयो। विशेषगरी विद्यार्थीलाई वर्षमा ५० वटा पुस्तक अध्ययन गराउने ‘एक्स्टेन्सिभ रिडिङ’ र सर्जकीय क्षमता प्रस्फुटन गराउने ‘मकै घर’ जस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गिन विकासमा टेवा पुग्ने उहाँको धारणा थियो।

20260201 131701

समारोहमा बोल्दै प्याब्सन भक्तपुरका सचिव बिजय कर्माचार्यले विगत चार दशकदेखि भक्तपुरको शैक्षिक क्षेत्रमा गोल्डेन गेटले पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। उहाँले भक्तपुरको कोर एरियाका हरेक घरसँग यो विद्यालय कुनै न कुनै रूपमा जोडिएको स्मरण गर्नुभयो। त्यस्तै, मन्टेसरी प्रशिक्षक रश्मी सुवालले विद्यालयले न्यूनतम् शुल्कमै अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधि र पूर्वाधार उपलब्ध गराएर अभिभावक र विद्यार्थीलाई ठूलो गुण लगाएको बताउनुभयो।

विद्यालयका प्रिन्सिपल तथा को-फाउण्डर सिङ्ग लामाले ३९ वर्षको शैक्षिक यात्राको संक्षिप्त चित्रण प्रस्तुत गर्दै आगामी योजनाका बारेमा प्रकाश पार्नुभएको थियो। उहाँले विद्यालयलाई स्थानीय कला र संस्कृतिको संरक्षण गर्ने ‘आविष्कार केन्द्र’ का रूपमा विकास गर्न गोल्डेन गेट साँस्कृतिक संग्रहालय र आधुनिक तालिमका लागि नयाँ आईसिटी हल निर्माणाधीन रहेको जानकारी दिनुभयो।

20260201 132615

वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले गीत, नृत्य, नेवारी जन्मदिन संस्कारको नाट्य प्रस्तुति र धिमे बाजा जस्ता सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेका थिए। सोही अवसरमा वर्षमा ५० भन्दा बढी पुस्तक पढ्ने ९० जना विद्यार्थीलाई ‘गोल्डेन रिडर्स ब्याच’ प्रदान गरिएको थियो भने ‘ईसिए फेस्ट’ का २१० जना विजेताहरूलाई पदक र प्रमाणपत्र वितरण गरियो।

सिईओ शिव श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सेकेण्डरी लेभल ईन्चार्ज श्रीषा सितिखूले स्वागत मन्तव्य राख्नुभएको थियो।

20260201 132423