ताजा अपडेट

ट्रेन्डिङ

१०औँ अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल फागुन १ गतेदेखि सुरु हुँदै

Gyan Khabar

ज्ञानखबर

बुध, माघ २१, २०८२
153 पटक हेरिएको
१०औँ अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल फागुन १ गतेदेखि सुरु हुँदै

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ९ गोठाटारस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले आगामी फागुन १ गतेदेखि १०औँ अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

विद्यालयस्तरीय खेलकुदको प्रवर्द्धन गर्ने र कलिला खेलाडीहरूमा रहेको फुटबल प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ आयोजना हुन लागेको यो प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन हुनेछ। उपत्यकाका विभिन्न विद्यालयका जुनियर टोलीहरू सहभागी हुने यस प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना र अनुशासनको विकास गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता सेभेन–ए–साइड ढाँचामा नकआउट आधारमा सञ्चालन गरिनेछ जसमा २०६९ साल माघ २६ गतेपछि जन्मिएका र कक्षा ७ सम्म अध्ययनरत छात्रहरूले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। सहभागी हुन चाहने टोलीहरूले आगामी माघ २६ गतेसम्म दर्ता शुल्क सात हजार रुपैयाँ बुझाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् भने खेलको टाइ–सिट माघ २८ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ।

विजेता टोलीहरूका लागि विद्यालयले नगद पुरस्कारको समेत आकर्षक व्यवस्था गरेको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार रुपैयाँ प्राप्त गर्नेछ भने द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले १५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँका साथै कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसका साथै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, गोलकिपर, अनुशासित टोली र प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ लाई पनि विशेष पुरस्कारद्वारा सम्मानित गरिनेछ।

प्रधानाध्यापक चोलिन्द्र बहादुर कार्कीका अनुसार विद्यालयको आफ्नै खेलमैदानमा हुने यस प्रतियोगिताले जुनियर तहका खेलाडीहरूलाई भविष्यका लागि तयार पार्न र छिमेकी विद्यालयहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुर्‍याउनेछ। विद्यालयले प्रतियोगितालाई निष्पक्ष र उत्साहपूर्ण बनाउन सम्पूर्ण तयारी पुरा गरिसकेको छ।