ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा अन्तर-माध्यमिक विद्यालय निबन्ध प्रतियोगिता सम्पन्न: ईसब र मनिषा प्रथम

Gyan Khabar

ज्ञानखबर

सोम, चैत्र २, २०८२
967 पटक हेरिएको
भक्तपुरमा अन्तर-माध्यमिक विद्यालय निबन्ध प्रतियोगिता सम्पन्न: ईसब र मनिषा प्रथम

सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार आज आइतबार श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुडालको आयोजनामा भव्य रूपमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा सृजनशीलता र बौद्धिक प्रतिस्पर्धाको विशेष संगम देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि एवं संयुक्त परीक्षा समितिका अध्यक्ष एवं शारदा मा.वि.का प्रधानाध्यापक रोशनराज तुईंतुईंले वार्षिक क्यालेण्डरअनुसार निर्धारित सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भदौको आन्दोलनका कारण एउटा खेलकुद कार्यक्रम प्रभावित भए पनि यसपटक विद्यार्थी मात्र नभई शिक्षककेन्द्रीत कार्यक्रमहरू समेत आयोजना गरिएको स्मरण गराउनुभयो। यस्ता अतिरिक्त क्रियाकलापबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी र प्रतिभाहरू उत्पादन भइसकेको तथ्य उहाँले गौरवका साथ प्रस्तुत गर्नुभयो।

विशिष्ट अतिथि वागीश्वरी मा.वि.का प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले समितिका कार्यक्रमहरू प्रतिस्पर्धा गर्ने थलो मात्र नभई मित्रता, अनुशासन र पहिचान साटासाट गर्ने महत्वपूर्ण मञ्च भएको तर्क राख्नुभयो। त्यस्तै, बासु मा.वि.का प्रधानाध्यापक रविलाल प्रधानले सहकार्य, सद्भाव र आपसी समझदारीकै कारण यस्ता कार्यक्रमहरू सफल हुँदै आएको उल्लेख गर्नुभयो।

प्रतियोगितामा छात्र र छात्रातर्फ छुट्टाछुट्टै विधा र शीर्षकमा प्रतिस्पर्धा गराइएको थियो। गोलाप्रथाद्वारा छात्रतर्फ आत्मपरक विधामा “मैले सोचेको पुग्ने भए…” र छात्रातर्फ वस्तुपरक विधामा “प्राविधिक शिक्षा आजको आवश्यकता” शीर्षक तय गरिएको थियो।

छात्रतर्फको निबन्ध मूल्यांकनमा चन्द्रशोभा खर्बुजा, लक्ष्मी सुवेदी र रामलक्ष्मी अवालको समिति रहेको थियो भने छात्रातर्फ कपिल के.सी., रञ्जना गिरी र तुलसी कठायतको मूल्यांकन समिति रहेको थियो। कडा प्रतिस्पर्धाका बीच छात्रतर्फ देवी मा.वि.का ईसब खड्का प्रथम, शारदा मा.वि.का हरी थापा मगर द्वितीय, श्री गणेश मा.वि. छालिङका देवप्रकाश जैसी तृतीय र भुवनेश्वरी मा.वि.का सुमन मानन्धर सान्त्वना स्थान हासिल गर्न सफल भए।

त्यसैगरी छात्रातर्फ विद्यार्थी निकेतन मा.वि.की मनिषा तामाङ प्रथम, वागीश्वरी मा.वि.की सुबिना श्रेष्ठ द्वितीय, श्री गणेश मा.वि. छालिङकी दिब्या सिन्केमनी तृतीय र सरस्वती विद्यागृह मा.वि.की निलम शाहीले सान्त्वना स्थान प्राप्त गरे।

कार्यक्रमका सभापति एवं आयोजक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद दुलालले प्रतियोगितामा हारजित भन्दा पनि सहभागिता हुनु नै गौरवको विषय भएको बताउनुभयो। उहाँले कार्यक्रमको जिम्मेवारी दिने संयुक्त परीक्षा समिति, निर्णायक मण्डल, शिक्षक एवं कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तजलेले स्वागत तथा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा शिक्षक सुनिल कोजूले प्राविधिक सहयोग गर्नुभएको थियो।

शिक्षकद्वय शुशिला बानियाँ र सुनिता कार्कीले अतिथि सत्कार तथा पुरस्कार व्यवस्थापनमा सहयोग गर्नुभयो भने खाजा व्यवस्थापनमा विद्यालयका सम्पूर्ण शिक्षक र कर्मचारीहरूको सामूहिक प्रयास रहेको थियो। विजयी विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र, मेडल र टीका लगाएर सम्मान गर्दै आगामी दिनमा समाज र राष्ट्रहितका लागि सकारात्मक लेखनलाई निरन्तरता दिन शुभकामना दिइएको थियो।