“परम्परागत भेषभूषा र संस्कृति: हाम्रा अमूल्य सम्पत्ति” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै भक्तपुरको मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा २०८२ चैत्र ४ गते भव्य ‘परम्परागत भेषभूषा प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम’ सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ का अध्यक्ष ज्ञानदास प्रजापतिको प्रमुख आतिथ्यतामा आयोजित उक्त समारोहमा पूर्व-प्राथमिक तहका साना नानीबाबुहरूले विभिन्न जातजाति र समुदायका मौलिक पहिरनमा सजिएर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै नैतिकवान र संस्कारयुक्त बनाउन मौलिक संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले हाम्रा ज्ञान, मान र गौरवका रूपमा रहेका यी सांस्कृतिक धरोहरहरूलाई जीवन्त राख्न विद्यालयले दशकौंदेखि यस्ता कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्नुभयो। बाल्यकालदेखि नै बालबालिकाहरूलाई आफ्नै पहिचान र मौलिकताप्रति गर्व गर्न सिकाउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।
प्रतियोगितात्मक रूपमा सञ्चालित उक्त प्रदर्शनीमा निर्णायकहरू अनु खड्का र आयुष्मा खड्काको मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यार्थीहरू छनौट गरिएको थियो। सोही अवसरमा वर्षभरि आयोजना गरिएका खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्रद्वारा सम्मानित गरियो। समारोहमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू समेत पस्किएका थिए।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका शिक्षाविद् राजेन्द्र दाहाल, सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला, र अभिभावकहरू डा. दिनेश प्रजापति तथा महेश प्रजापतिको विशिष्ट उपस्थिति रहेको थियो। विद्यालयकी पूर्व-प्रावि इन्चार्ज शोभा प्रजापतिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पूर्व-प्रावि संयोजक पदमकेशरी श्रेष्ठले गर्नुभएको थियो। शिक्षिकाहरूको विशेष संयोजनमा सम्पन्न यस कार्यक्रमले साना बालबालिकामा सांस्कृतिक चेतना जगाउन सफल भएको छ।