ताजा अपडेट

ट्रेन्डिङ

भीम आदर्श विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, चैत्र ६, २०८२
64 पटक हेरिएको
भीम आदर्श विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुरको भीम आदर्श आधारभूत विद्यालयले शुक्रबार एक विशेष समारोहका बीच आफ्नो ६३औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न सामुदायिक विद्यालयको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीलाई परम्परागत शैलीभन्दा माथि उठेर २१औँ शताब्दी सुहाउँदो व्यवहारिक शिक्षा दिनुपर्नेमा जोड दिँदै मोबाइलको अत्यधिक प्रयोगले हराउँदै गएको पारिवारिक सद्भावप्रति सचेत रहन आग्रह गर्नुभयो। उहाँले सिकाइलाई परीक्षामुखी मात्र नभई जीवनोपयोगी र सामाजिक उत्तरदायित्वसँग जोड्नुपर्ने खाँचो औँल्याउनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीले भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाउने अभियानमा विद्यालय परिवार सदैव तत्पर रहेको बताउनुभयो। त्यसैगरी, वडा नं ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले विद्यार्थीलाई फोहोर व्यवस्थापन जस्ता व्यवहारिक सीप सिकाउन जरुरी रहेको धारणा राख्नुभयो। आधारभूत विद्यालय समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकहरू थप लगनशील र मिहिनेती बन्नुपर्नेमा जोड दिनुभयो।

विद्यालयका प्रधानाध्यापक पूजा दाहालले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै शिक्षाले व्यक्तिलाई आत्मसम्मान, स्वाभिमानी र नैतिकवान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। समारोहमा पूर्व प्रधानाध्यापकहरू, विद्यालयका शुभेच्छुकहरू, अभिभावक र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

कार्यक्रममा वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो भने विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए।