ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनमा चिनियाँ स्वयंसेविका शिक्षिकाको बिदाइ

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र १४, २०८२
172 पटक हेरिएको
विनायक शिक्षा निकेतनमा चिनियाँ स्वयंसेविका शिक्षिकाको बिदाइ

विगत दुई वर्षदेखि विनायक शिक्षा निकेतनका विद्यार्थीहरूलाई निरन्तर रूपमा चिनियाँ भाषा सिकाउँदै आउनुभएकी स्वयंसेविका शिक्षिका हु जियानसु (Hu Jianxue) लाई एक विशेष समारोहका बीच बिदाइ गरिएको छ। कक्षा ६ र ७ का विद्यार्थी भाइबहिनीहरूले आयोजना गरेको उक्त बिदाइ समारोहमा माया, सद्भाव र कृतज्ञता प्रकट गर्दै शिक्षिका जियानसुको कार्यकालको उच्च मूल्याङ्कन गरियो।

समारोहमा विद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै कक्षा ६ की युलन राई र कक्षा ७ की साइना प्रजापतिले चिनियाँ शिक्षिकाले कक्षाकोठामा देखाउनुभएको माया र हौसलाको चर्चा गर्नुभयो। उहाँहरूका अनुसार हु जियानसुले केवल भाषा मात्र नसिकाई विभिन्न रोचक क्रियाकलाप र खेलका माध्यमबाट विद्यार्थीहरूलाई सिक्न प्रेरित गर्नुभएको थियो। आफ्नो बिदाइ मन्तव्यका क्रममा शिक्षिका हु जियानसुले विद्यालय परिवार र विद्यार्थीहरूबाट प्राप्त अपार साथ र सहयोगका लागि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आफूले नेपाल र यहाँका विद्यार्थीहरूलाई निकै मिस गर्ने बताउँदै केही समयपछि पुनः नेपाल फर्किएर आउने बाचा समेत गर्नुभयो।

gyankhabar vinayak 01

कार्यक्रमलाई सम्बोधन गर्दै विनायक शिक्षा निकेतनका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय भाषा, संस्कृति, सीप र प्रविधिसँग परिचित गराउने उद्देश्यले विद्यालयले विभिन्न देशका स्वयंसेवकहरूलाई आमन्त्रण गर्ने गरेको जानकारी दिनुभयो। उहाँले शिक्षिका जियानसुले पुर्‍याउनुभएको योगदानप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि उहाँलाई विद्यालयमा स्वागत गर्ने इच्छा व्यक्त गर्नुभयो।

बिदाइको विशेष क्षणमा प्रिन्सिपल प्रजापतिले शिक्षिकालाई खादा ओढाई सम्मान गर्नुभएको थियो भने विद्यार्थीहरूले आफ्ना प्रिय शिक्षिकालाई विभिन्न उपहारहरू प्रदान गरेका थिए। कार्यक्रमको सफल सञ्चालन कक्षा ७ का छात्राहरू एन्जिला श्रेष्ठ र नाइरा प्रजापतिले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको संयोजन शिक्षिका सन्ध्या झा ले गर्नुभएको थियो। यस कार्यक्रमले विद्यालय र चिनियाँ स्वयंसेविका बीचको प्रगाढ सम्बन्धलाई थप प्रस्ट पारेको छ।