ताजा अपडेट

ट्रेन्डिङ

त्रि-चन्द्र क्याम्पसमा ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धी ‘इनसेप्सन वर्कसप’ सम्पन्न

Gyan Khabar

ज्ञानखबर

मङ्ल, बैशाख २९, २०८३
439 पटक हेरिएको
त्रि-चन्द्र क्याम्पसमा ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धी ‘इनसेप्सन वर्कसप’ सम्पन्न

काठमाडौंको ऐतिहासिक त्रि-चन्द्र बहुमुखी क्याम्पसमा नेपालको ऊर्जा भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको ‘ग्रीन हाइड्रोजन’ उत्पादन सम्बन्धी एक दिवसीय ‘इनसेप्सन वर्कसप’ सम्पन्न भएको छ।

रसायन शास्त्र विभागद्वारा आयोजित यस विशेष कार्यक्रमको मुख्य केन्द्रविन्दु “नेपालमा दिगो ग्रीन हाइड्रोजन उत्पादनका लागि TMDCs को मौलिक्युलर इन्जिनियरिङ दृष्टिकोण” रहेको थियो। यो अनुसन्धान परियोजना त्रिभुवन विश्वविद्यालयको अनुसन्धान समन्वय तथा विकास परिषद् (RCDC) बाट प्राप्त ‘इमर्जिङ फ्याकल्टी रिसर्च ग्रान्ट’ अन्तर्गत सञ्चालन गरिएको हो, जसले नेपालका युवा शोधकर्ताहरूलाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा काम गर्न प्रोत्साहित गरिरहेको छ।

क्याम्पस प्रमुख प्रा. डा. नीलम श्रेष्ठ प्रधानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ऊर्जा र शिक्षा क्षेत्रका विशिष्ट विज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा RCDC का निर्देशक प्रा. डा. ईश्वर कोइरालाले विश्वविद्यालयको अनुसन्धान प्राथमिकताका बारेमा प्रष्ट पार्नुभयो भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले नेपालको ‘ग्रीन हाइड्रोजन’ रोडम्यापमा यस अध्ययनको रणनीतिक महत्त्वबारे चर्चा गर्नुभयो। त्यस्तै वरिष्ठ रसायनविद् प्रा. डा. जगदिश भट्टराईले इलेक्ट्रोकेमेस्ट्री र मटेरिअल साइन्सका जटिल प्राविधिक आयामहरूका बारेमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो।

यस अनुसन्धानको प्राविधिक पक्ष निकै आधुनिक र आशालाग्दो देखिएको छ। परियोजनाले TMDCs जस्ता अत्याधुनिक सामग्रीहरूलाई प्रयोग गरी पानीबाट हाइड्रोजन निकाल्ने प्रक्रियालाई किफायती र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। जलस्रोतमा धनी नेपालका लागि यो प्रविधि ऊर्जा आत्मनिर्भरताको बलियो आधार बन्न सक्छ। कार्यक्रममा भौतिकशास्त्र विभागका प्रा. डा. गोपिचंद्र काफ्ले, रसायन शास्त्र विभाग प्रमुख प्रा. डा. अशोक कुमार सिंह र RMC संयोजक डा. दयानिधि छतकुली लगायतका शिक्षाविद्हरूले मटेरिअल साइन्स र अनुसन्धानको माध्यमबाटै समृद्धिको बाटो तय हुने विश्वास व्यक्त गर्नुभयो।

परियोजनाको नेतृत्व मुख्य अनुसन्धानकर्ता डा. डासुराम पौडेलले गरिरहनुभएको छ भने उहाँलाई सह-अनुसन्धानकर्ता प्रा. डा. सुरेन्द्र कुमार गौतमले साथ दिनुभएको छ। वर्कसपमा डा. पौडेलसँगै शोधार्थीहरू सचिन थापा र अनिमा कुमारी राजबंशीले परियोजनाको विस्तृत मार्गचित्र प्रस्तुत गर्नुभएको थियो। डा. पौडेलले आफूले विदेशमा सिकेको उच्च प्रविधि र सीपलाई आफ्नै माटोमा प्रयोग गर्न पाउँदा विशेष उत्साह महसुस गरेको बताउनुभयो। कार्यक्रमको बिट मार्दै सहायक क्याम्पस प्रमुख डा. सरीता मानन्धरले यस्ता वैज्ञानिक खोज र अनुसन्धानले त्रि-चन्द्र क्याम्पसको प्राज्ञिक उचाइ थप बढ्ने र यसले राष्ट्रिय आवश्यकता पूर्ति गर्न सहयोग पुग्ने विश्वास दिलाउनुभयो।