नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले आइटी विषयमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरेको छ। विभागले ‘सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८१’ अनुसार योग्य विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको हो।
स्वदेशी विश्वविद्यालय वा त्यस्ता विश्वविद्यालयका आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा सूचना प्रविधि विषय लिई स्नातक, स्नातकोत्तर, एम.फिल. वा विद्यावारिधि तहमा भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीहरूले यो छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्। छनोट भएका विद्यार्थीहरूलाई एकमुष्ट रु. पचास हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने सूचनामा उल्लेख छ।
आवेदन दिन इच्छुक विद्यार्थीहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात् २०८२ जेठ १२ गतेसम्ममा आफ्नो दरखास्त पेश गरिसक्नुपर्नेछ। आवेदन प्रक्रियालाई सहज बनाउन विभागले दुईवटा विकल्प दिएको छ। विद्यार्थीहरूले काठमाडौँको तिनकुनेस्थित विभागको कार्यालयमा स्वयम् उपस्थित भएर वा आवश्यक कागजातहरू स्क्यान गरी आधिकारिक इमेल ठेगाना scholarship@doit.gov.np मार्फत पनि पठाउन सक्नेछन्। म्याद नाघी आएका वा आवश्यक प्रक्रिया नपुगेका आवेदनहरूमाथि कुनै कारबाही नहुने विभागले प्रस्ट पारेको छ।
निवेदनका साथमा नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताका लब्धाङ्क पत्रहरू र हाल अध्ययनरत शिक्षण संस्थाबाट अन्य कुनै छात्रवृत्ति नलिएको सिफारिस पत्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ। त्यसैगरी, सरकारी वा सामुदायिक विद्यालयबाट एस.इ.इ. उत्तीर्ण गरेका विद्यार्थीहरू र आर्थिक रूपमा विपन्न समूहका आवेदकहरूले सम्बन्धित स्थानीय तहबाट सिफारिस पत्र लिएर संलग्न गर्नुपर्ने प्रावधान रहेको छ। यसले लक्षित वर्गसम्म छात्रवृत्तिको पहुँच पुऱ्याउन मद्दत गर्ने देखिएको छ।
यस छात्रवृत्ति सम्बन्धी विस्तृत कार्यविधि र आवेदनको ढाँचा सूचना प्रविधि विभागको आधिकारिक वेबसाइट https://doit.gov.np बाट डाउनलोड गर्न सकिन्छ।
