ताजा अपडेट

ट्रेन्डिङ

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

Gyan Khabar

ज्ञानखबर संवाददाता

२१ मङ्सिर २०७९, बुधबार
57 पटक हेरिएको
त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो ।  दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् ।

विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्त भित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए ।

उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदैछन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुनेछन् ।  स्नातकतर्फ रु तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु चार हजार दुई सय तथा विद्यावारिधिमा रु चार हजार सात सय शुल्क लाग्नेछ । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहनेछ ।

समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभर्सिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए । एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अङ्क ल्याउनेलाई पदक वितरण गरिनेछ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मङ्सिर १५ देखि २२ गतेसम्म गाउन/स्कार्फ वितरण गरिरहेको छ ।

समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ ।