ताजा अपडेट

ट्रेन्डिङ

विनायक शिक्षा निकेतनमा दुई दिवसीय स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, बैशाख ३०, २०८३
575 पटक हेरिएको
विनायक शिक्षा निकेतनमा दुई दिवसीय स्क्र्याबल च्याम्पियनसिप सम्पन्न

गुणस्तरीय शिक्षासँगै विद्यार्थीको चौतर्फी विकासलाई प्राथमिकता दिँदै आएको अग्रणी शैक्षिक संस्था विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा दुई दिवसीय स्क्र्याबल च्याम्पियनसिप भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत वैशाख २८ र २९ गते आयोजित यस प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

अतिरिक्त क्रियाकलाप विभागको संयोजनमा सञ्चालित यस प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका करिब ९० जना विद्यार्थीले आफ्नो बौद्धिक कौशल प्रदर्शन गरेका थिए। विद्यार्थीहरूमा लुकेको सृजनात्मक क्षमता प्रस्फुटन गराउने र नवीन सोचको विकास गर्ने उद्देश्यले विद्यालयले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतिस्पर्धालाई थप व्यवस्थित बनाउन कक्षा ४ र ५, कक्षा ६ र ७, तथा कक्षा ८ र ९ गरी तीनवटा समूहमा विभाजन गरिएको थियो भने प्रत्येक समूहमा तीन चरणका खेलहरू खेलाइएको थियो।

प्रतियोगिताको सिनियर विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउन सफल मेधावी विद्यार्थी तुलज प्रजापति उत्कृष्ट घोषित भए। लामो समयदेखि नेसनल च्याम्पियनमा छनोट हुँदै अन्तर्राष्ट्रिय स्क्र्याबल प्रतियोगितामा चौथो स्थान हासिल गरिसकेका प्रजापतिले यसपटक पनि आफ्नो वर्चस्व कायम राखे। त्यस्तै प्रतियोगितामा सागर दुलालले द्वितीय र सोमिया श्रेष्ठले तृतीय स्थान हासिल गर्दै आफ्नो उत्कृष्ट शब्द भण्डार र तार्किक क्षमताको परिचय दिए।

कार्यक्रमको समापनका अवसरमा विद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले विद्यार्थीहरूले प्रदर्शन गरेको खेल कौशलको प्रशंसा गर्दै यस्ता बौद्धिक खेलहरूले विद्यार्थीको मानसिक विकास र आत्मविश्वास अभिवृद्धिमा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। भविष्यमा पनि विद्यार्थीको क्षमता निखार्न यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता विद्यालयले जनाएको छ।