ताजा अपडेट

ट्रेन्डिङ

चाँगुनारायणमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : ९ सय विद्यार्थी सहभागी

Gyan Khabar

ज्ञानखबर संवाददाता

१६ माघ २०७९, सोमबार
197 पटक हेरिएको
चाँगुनारायणमा पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : ९ सय विद्यार्थी सहभागी

चाँगुनारायण नगरपालिकाले पहिलोपटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको छ । विभिन्न कारण यसअघिको कार्यकालमा हुन नसकेको सो प्रतियोगिता यो वर्षबाट सुरू भएको हो ।

सो प्रतियोगिताको उद्घाटन नगर प्रमुख जीवन खत्रीले झण्डोत्तोलन गरि गरेका थिए । सो अवसरमा उनले विद्यार्थीको शारीरिक र बौद्विक क्षमता अभिवृद्धिका लागि खेलकुदले सहयोग पुर्याउने बताए । खेलले विद्यार्थीलाई आत्म अनुशासनमा राख्नेमात्र नभई आत्मविश्वास बढाउन र धैर्य गर्न सिकाउने भएको चर्चा गर्दै नगरपालिकाले खेलकुदका पूर्वाधार अभावका बाबजुद पनि प्रतियोगिता गरिएको बताए ।

प्रतियोगितामा तेक्वान्दो, उशु, लङजम्प, सटपुट, ट्रिपल जम्प, कराँते, हाइजम्प, ज्याभलिन थ्रो, दौड, रिले दौड, भलिबल र कबड्डी खेल समावेश गरिएका छन् । प्रतियोगितामा ३१ विद्यालयका २८९ छात्र , १८९ छात्रा गरि ८६४ जना खेलाडीले सहभागीता जनाएको सो कार्यक्रमका संयोजक एवम् शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले जानकारी दिए ।

माघ १८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि नगर खेलकुद समिति, जिल्ला खेलकुद विकास समिति तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोग रहेको छ । शाखा प्रमुख खड्काले खेलकुद विश्वको नयाँ आकर्षण बन्दै गरेको र खेलमार्फत पनि भविष्य बनाउन सकिने जनाउँदै खेलकुदमार्फत चाँगुनारायणको थप परिचय निर्माणका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै खेलकुदलाई प्राथमिकता राखेको बताए ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र दाहालले नगरपालिकाको प्रयासको सराहना गरे । उनले खेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई स्थानीय तहले मात्र नभइ विद्यालयले समेत प्राथमिकता दिन सुझाव दिए ।

सोही अवसरमा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, नगरपालिकाका प्रवक्ता जनक खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रजीत केसीलगायतले शुभकामना दिएका थिए । प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र दिने कार्यक्रम संचालक रञ्जना सापकोटाले बताइन् ।

कार्यक्रममा चाँगुनारायण नगर खेलकुद समितिका अध्यक्ष रघु केसीले राष्ट्रपति रनिङ शिल्डको आयोजनाले विद्यार्थी तथा शिक्षकहरुमा नयाँ खाले उर्जा मिलेको बताउँदै नगरपालिकाले सो कार्यलाई निरन्तरता दिने बताए ।