नेपालको शैक्षिक विकास, डिजिटल रूपान्तरण र उच्च शिक्षाको गुणात्मक सुधारका लागि नेपाल र युरोपेली सङ्घ (इयू) बीचको सहकार्यलाई थप सुदृढ बनाइने भएको छ। नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल र युरोपेली सङ्घमा आबद्ध विभिन्न मुलुकका राजदूतहरूबीच सिंहदरबारमा भएको संयुक्त भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो। उक्त भेटघाटमा नेपालस्थित इयू कार्यालयका उपनियोग प्रमुख थोमस मिलरका साथै लिथुआनिया, साइप्रस, चेक गणतन्त्र, लक्जेम्बर्ग, रोमानिया, डेनमार्क र नेदरल्यान्डका गैरआवासीय राजदूतहरूको उपस्थिति रहेको थियो।
भेटका क्रममा युरोपेली देशका प्रतिनिधिहरूले नेपालको नयाँ सरकारको विकास प्राथमिकतालाई सघाउन सिङ्गो युरोपेली सङ्घ इच्छुक रहेको उल्लेख गरे। विशेष गरी उच्च शिक्षाको क्षेत्रमा दीर्घकालीन साझेदारी गर्न गहिरो चासो व्यक्त गर्दै उनीहरूले शिक्षा क्षेत्रमा उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
यस सन्दर्भमा मन्त्री पोखरेलले मन्त्रालयले शिक्षाको डिजिटल रूपान्तरण र उच्च शिक्षामा विद्यार्थी मात्र नभई विश्वविद्यालयका प्राध्यापक तथा सङ्काय सदस्यहरूको प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्न विशेष ध्यान दिएको कुरा स्पष्ट पार्नुभयो।
युरोपेली सङ्घको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै मन्त्री पोखरेलले आगामी दिनमा साझेदारीलाई अझ व्यापक बनाउन मन्त्रालय तत्पर रहेको बताउनुभयो। उहाँले सरकारको नीति तथा प्राथमिकतामाथि प्रकाश पार्दै शिक्षामा समावेशिता, पूर्वाधार निर्माण तथा शिक्षकहरूको पेसागत दक्षता विकासका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने धारणा राख्नुभयो। नेपालले हाल उच्च शिक्षाको समग्र पुनर्संरचनाको तयारी गरिरहेको परिप्रेक्ष्यमा युरोपेली मुलुकहरूको विज्ञता र नवीन अवधारणा साझा गर्न उहाँले आग्रह गर्नुभयो।
सो अवसरमा साइप्रस, रोमानिया र नेदरल्यान्डका राजदूतले नेपालको शैक्षिक क्षेत्रमा साझेदारी बढाउन आफूहरू तयार रहेको बताए। नेपालबाट युरोपेली मुलुकमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा दुई पक्षीय सम्बन्धलाई थप जनस्तरमा विस्तार गर्दै लैजानुपर्नेमा दुवै पक्षले जोड दिएका छन्।