ताजा अपडेट

ट्रेन्डिङ

जनज्योति पुस्तकालयमा इ-लाइब्रेरी (विद्युतीय पुस्तकालय) शुभारम्भ

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ ६, २०८०
267 पटक हेरिएको
जनज्योति पुस्तकालयमा इ-लाइब्रेरी (विद्युतीय पुस्तकालय) शुभारम्भ

भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको एक वर्ष पुगेको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनज्योति पुस्तकालयमा इ–लाईब्ररीको शुभारम्भ भयो ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले कम्प्युटरको माउस क्लिक गरेर शनिबार इ–लाइब्रेरीको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सांसद सुवालले २१ औं शताब्दीको डिजिटल युगमा सूचना र प्रविधिसँग कोही पनि अछुटो रहन नसक्ने बताउँदै अनलाइनमाध्यमको प्रयोगसँगै अधुसन्धानकर्ताहरुलाई सहज र अध्ययनको दायरा बढ्दै गएको बताउनुभयो ।

अनलाइन सञ्चारमाध्यममा राखिएका तथ्य तथ्यांक सँधै सत्य नहुन सक्छन् भन्दै उहाँले इन्टरनेटमा राखिएका तथ्यहरुलाई आलोचनात्मक व्याख्या गरी जनतालाई साँचो सूचना प्रवाह गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।

समसामयिक विषयमा आफ्नो धारणा राख्दै नेपाल मजदुर किसान पार्टीले भुटानी शरणार्थीलाई भुटानमै फर्काउनुपर्नेमा निरन्तर जोड दिँदै आएको बताउँदै सांसद सुवालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।
रुसले युक्रेनमा युद्ध गरेको झुटा तर्कलाई शासक दलले समर्थन गर्नु आफैमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद अगाडि आत्मसमर्पणको नीतिअनुरुप भएको उहाँले प्रष्ट पार्नुभयो ।

el3

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले जनज्योति पुस्तकालयको स्तरोन्नतिलाई ध्यानमा राख्दै इ लाइब्रेरीको सुरुवात गरिएको बताउनुभयो । उहाँले जिल्ला जिल्लाका धेरै पुस्तकालय बन्द हुने अवस्थामा भक्तपुर नपाले जनज्योति पुस्तकालयलाई अझ सुविधासम्पन्न र व्यवस्थापित बनाउने काम गरेसँगै पाठकहरु उत्साहित बनेको बताउनुभयो ।

इ लाइब्रेरी स्थापनासँगै खोज तथा अनुसन्धान गर्नेहरुको निम्ति यसबाट निकै सहज हुने बताउँदै उहाँले भक्तपुर नपाको सन्तुलित विकास गर्ने उद्देश्यअनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो । संघीयता कार्यान्वयनको ६ वर्ष बितिसक्दा पनि नेपालमा संघीयताको भावना र मर्मअनुसार काम हुन नसकेको बताउँदै उहाँले भक्तपुर नपाले संघीयताको राम्रो अभ्यास गरिरहेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सृजना सैंजुले पुस्तक अध्ययनले सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै इ लाइब्रेरीको शुभारम्भसँगै अध्ययन अनुसन्धान तथा उच्च शिक्षा अध्ययन गर्ने नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी लाभान्वित हुने बताउनुभयो । ज्ञानमाथि प्रतिबद्ध लगाउने सिलसिला अझ पनि नेपालमा कायमै रहेको बताउँदै उहाँले ख्वप विश्वविद्यालयको स्वीकृति दिन ढिलाइ गरिनु आफैमा सरकारको संकुचित र पूर्वाग्राही सोच भएको बताउनुभयो ।

el2

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले २१ औं शताब्दीमा सूचना र प्रविधिमा अगाडि बढ्नु अपरिहार्य भएको बताउँदै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन यस किसिमको गतिविधिले टेवा पुर्याउँछ भन्नुभयो । उहाँले इ लाइब्रेरी शुभारम्भसँगै विज्ञानसम्मत समाज निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा जनज्योति पुस्तकालयका शाखा प्रमुख भूपाल मूलले पुस्तकालयको इतिहास र महत्वमाथि प्रष्ट पार्दै समयको मागअनुसार जनज्योति पुस्तकालयले इ लाइब्रेरीलाई अगाडि बढाएको हो भन्नुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।