ताजा अपडेट

ट्रेन्डिङ

चाँगुनारायणका दुई वडामा ‘बर्ड फ्लु’ पुष्टि: ११ बुँदे कडा निर्देशन जारी, सतर्क रहन आह्वान

Gyan Khabar

ज्ञानखबर

बुध, जेष्ठ २०, २०८३
328 पटक हेरिएको
चाँगुनारायणका दुई वडामा ‘बर्ड फ्लु’ पुष्टि: ११ बुँदे कडा निर्देशन जारी, सतर्क रहन आह्वान

भक्तपुरको चाँगुनारायण नगरपालिकामा घातक मानिने ‘बर्ड फ्लु’ (H5N1) रोगको संक्रमण पुष्टि भएको छ। नगरपालिकाको वडा नम्बर १ र ९ मा रहेका फार्महरूमा अचानक ठूलो संख्यामा कुखुरा मरेपछि संकलन गरिएको नमूना परीक्षण गर्दा उक्त घातक भाइरस प्रमाणित भएको हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा गरिएको वैज्ञानिक परीक्षणबाट यो संक्रमण ‘हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ भएको पुष्टि भएको नगरपालिकाले जनाएको छ।

संक्रमण फैलिन नदिन नगरपालिकाको एक्सन: ११ बुँदे निर्देशन
संक्रमण थप फैलिन नदिन र यसलाई तत्काल नियन्त्रणमा लिन चाँगुनारायण नगरपालिकाले नगरवासी तथा पशुपन्छी पालक कृषकहरूका लागि ११ बुँदे कडा जनस्वास्थ्य एवं जैविक सुरक्षा निर्देशन जारी गरेको छ। नगरपालिकाका वरिष्ठ पशु विकास अधिकृत खडक कुमार मैनालीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएका मुख्य बुँदाहरू यस प्रकार छन्:

  • फार्ममा प्रवेश निषेध: पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनहरूको प्रवेशमा पूर्ण बन्देज लगाइएको छ।

  • अनिवार्य नि:संक्रमण: फार्म परिसरभित्र सवारी वा व्यक्ति प्रवेश गराउनै पर्ने अत्यावश्यक अवस्था भएमा पूर्ण रूपमा स्यानिटाइज गरेर मात्र प्रवेश गराउनुपर्नेछ।

  • कामदार ओसारपसारमा रोक: जैविक सुरक्षालाई ध्यानमा राख्दै एक फार्ममा काम गर्ने मजदुर वा व्यक्ति अर्को फार्ममा जान पाउने छैनन्।

  • क्रेटर पुनः प्रयोगमा प्रतिबन्ध: प्रयोग भइसकेको अण्डा राख्ने कागजको क्रेटलाई कुनै पनि हालतमा पुनः प्रयोग गर्न पाइने छैन।

  • फुटबाथको अनिवार्य व्यवस्था: खोरको ढोकामा अनिवार्य रूपमा चुन वा नि:संक्रामक औषधि राखिएको ‘फुटबाथ’ बनाई प्रत्येक पटक टेक्ने वा स्प्रे गरेर मात्र भित्र छिर्नुपर्नेछ।

  • छुट्टै पोशाकको प्रयोग: खोर भित्र प्रवेश गर्दा अनिवार्य रूपमा फार्मकै लागि मात्र सुरक्षित राखिएका बुट र एप्रोन प्रयोग गर्नुपर्नेछ।

  • दैनिक स्यानिटाइजेसन: खोरको भित्री र बाहिरी परिसरमा दैनिक रूपमा नि:संक्रमण स्प्रे छर्कनुपर्नेछ।

  • अन्य जीवजन्तुको प्रवेशमा रोक: फार्मभित्र कुकुर, बिरालो, मुसा जस्ता अन्य पशुपन्छीहरू प्रवेश गर्न नसक्ने गरी सुरक्षित बारटोलको व्यवस्था मिलाउनुपर्नेछ।

  • सुरक्षित विसर्जन: मरेका पन्छीहरूलाई जथाभाभी नफाली पर्यावरण र स्वास्थ्यमा असर नपुग्ने गरी गहिरो खाडल खनेर सुरक्षित तरिकाले पुर्नुपर्नेछ।

  • व्यक्तिगत सुरक्षा र स्वास्थ्य: फार्ममा काम गर्नेहरूले मास्क, पञ्जा लगायतका व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने र स्वास्थ्यमा समस्या देखिए तुरुन्त स्वास्थ्य संस्था जाने।

  • भेटेरिनरी प्रमाणपत्र अनिवार्य: पन्छी तथा पन्छीजन्य उत्पादनहरूको ओसारपसार गर्दा आधिकारिक भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरिएको छ।

‘टोल फ्री’ नम्बरमा तुरुन्त सम्पर्क गर्न आग्रह

नगरपालिकाले आफ्नो क्षेत्र वा फार्ममा अचानक धेरै संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा लुकाएर नराख्न आग्रह गरेको छ। यस्तो अवस्था देखिएमा तुरुन्तै पशुपन्छी सेवा उपशाखाको टोल फ्री नम्बरहरू १८१०५००३५० वा १८१०५००३५१ मा सम्पर्क गरी बुझाउन र महामारी नियन्त्रणमा सहयोग गर्न सर्वसाधारणमा विशेष अपिल गरिएको छ।