ताजा अपडेट

ट्रेन्डिङ

गोल्डेन गेट इङ्ग्लिस स्कुलद्वारा एसईई २०८२ का विद्यार्थीहरू सम्मानित

Gyan Khabar

ज्ञानखबर

शनि, जेष्ठ १६, २०८३
389 पटक हेरिएको
गोल्डेन गेट इङ्ग्लिस स्कुलद्वारा एसईई २०८२ का विद्यार्थीहरू सम्मानित

भक्तपुरको गोल्डेन गेट इङ्ग्लिस स्कुलले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका आफ्ना विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

वि.सं. २०४३ सालदेखि गुणस्तरीय तथा सर्वसुलभ शिक्षा प्रदान गर्दै आएको यस विद्यालयका विद्यार्थीले  ४.० GPA सम्म प्राप्त गरी आफ्नो शैक्षिक उत्कृष्टतालाई थप स्थापित गरेका छन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो। सो अवसरमा उहाँले विद्यार्थीहरूको यो सफलतामा शिक्षक, अभिभावक र विद्यार्थी स्वयंको त्रिकोणात्मक मेहनतको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

नगरप्रमुख प्रजापतिले सफलता हासिल गर्नु मात्र पर्याप्त नभई जीवनमा आउने चुनौतीहरूको सामना गर्न सक्ने क्षमता विकास गर्नुपर्नेमा जोड दिँदै शिक्षा केवल पैसा कमाउने माध्यम नभई असल र जिम्मेवार नागरिक बन्ने आधार भएको बताउनुभयो। व्यक्तिगत हितभन्दा माथि उठेर समाज र राष्ट्रप्रतिको दायित्वलाई आत्मसात गर्नुपर्ने धारणा राख्दै उहाँले विदेशमा उच्च शिक्षा हासिल गरे पनि प्राप्त ज्ञान र सीपलाई देश निर्माणमा प्रयोग गर्न स्वदेश फर्किन युवाहरूलाई आह्वान गर्नुभयो।

विशेष अतिथि एवं भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले विगतमा आफूले सोही विद्यालयमा अध्यापन गराएको सुखद क्षण स्मरण गर्दै विद्यालयसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउनुभयो। उहाँले शिक्षण पेशालाई सबैभन्दा सम्मानित र सिर्जनशील पेशाका रूपमा व्याख्या गर्दै शिक्षा नै व्यक्तित्व निर्माणको मूल आधार भएको धारणा व्यक्त गर्नुभयो।

20260531 112255

कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालले शिक्षालाई समाज र राष्ट्र रूपान्तरणको प्रमुख साधनका रूपमा उल्लेख गर्नुभयो भने कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले अनुशासन र निरन्तर मेहनतले नै जीवनमा सफलता मिल्ने बताउँदै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो

विद्यालयका प्रिन्सिपल सिङ्गबहादुर लामाले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राखेको चर्चा गर्दै यो नतिजा समन्वित प्रयासको परिणाम भएको बताउनुभयो। विद्यार्थीहरूको तर्फबाट मन्तव्य राख्दै ४.० GPA प्राप्त गर्ने छात्रा रुबिशा मानन्धरले विद्यालयको उत्कृष्ट शैक्षिक वातावरण, शिक्षकहरूको मार्गदर्शन र अभिभावकको प्रेरणाले नै आफूहरू लक्ष्य प्राप्तिमा सफल भएको धारणा राखिन्।

समारोहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिनुका साथै योगदान पुर्‍याउने शिक्षकहरूलाई पनि विशेष सम्मान गरिएको थियो। शिक्षक–अभिभावक संघका अध्यक्ष बिकेश मानन्धरले विद्यार्थीहरूलाई आगामी यात्राको शुभकामना दिनुभयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अञ्जु चिपालु जोशीले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक र शिक्षकप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट शैक्षिक उपलब्धिको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।