ब्रह्माण्डका अन्य ग्रह वा मंगल ग्रहमा जीवनको खोजी भइरहेका बेला चिनियाँ वैज्ञानिकहरूले पृथ्वीकै गर्भभित्र एउटा यस्तो आश्चर्यजनक संसार फेला पारेका छन्, जसले विज्ञानको पुराना मान्यताहरूलाई चुनौती दिएको छ।
चाइनिज एकेडेमी अफ साइन्सेस र क्यानडाको युनिभर्सिटी अफ अल्बर्टाका वैज्ञानिकहरूको संयुक्त अनुसन्धानले पृथ्वीको कयौं किलोमिटर मुनि, जहाँ कहिल्यै घामको किरण पुग्दैन, त्यहाँ जीवहरू सक्रिय रूपमा बाँचिरहेको पत्ता लगाएको छ। अचम्मको कुरा त के छ भने, यी जीवहरूले दिनहुँ आउने भूकम्प र जमिनमुनिको हलचलबाट आफ्नो ऊर्जा प्राप्त गर्ने गर्छन्।
प्रसिद्ध वैज्ञानिक जर्नल ‘साइन्स एडभान्स’ मा प्रकाशित यो प्रतिवेदनले परम्परागत विज्ञानलाई नै सोच्न बाध्य बनाएको छ। अहिलेसम्म पृथ्वीको सतहभन्दा केही किलोमिटर मुनि जीवन सम्भव छैन भन्ने मानिन्थ्यो, तर यो नयाँ खोजले जमिनमुनि एउटा विशाल र सक्रिय ‘बायोस्फियर’ (जैविक चक्र) रहेको खुलासा गरेको छ।
९५ प्रतिशत प्रोकारियोट्स जमिनमुनि!
अनुसन्धानका अनुसार पृथ्वीको भित्री भागमा यति धेरै संख्यामा सूक्ष्मजीवहरू (प्रोकारियोट्स) छन्, जसको कुल संख्या पृथ्वीमा उपलब्ध कुल प्रोकारियोट्सको ९५ प्रतिशतसम्म हुन सक्छ। प्रोकारियोट्स (Prokaryotes) त्यस्ता एककोशिकीय सूक्ष्मजीव हुन् जसमा छुट्टै केन्द्रक (Nucleus) हुँदैन।
यो ऐतिहासिक खोजको नेतृत्व चाइनिज एकेडेमी अफ साइन्सेसका प्रोफेसर झू जियान्सी र हे होङपिङ तथा युनिभर्सिटी अफ अल्बर्टाका प्रोफेसर कर्ट कोनहाउजरले गरेका हुन्।
भूकम्प कसरी बन्छ यी जीवका लागि ‘पावर बैंक’?
जमिनको गहिरो अन्धकारमा सूर्यको प्रकाश नहुने भएकाले त्यहाँ ‘केमोसिन्थेसिस’ (रासायनिक प्रक्रियाबाट ऊर्जा बनाउने विधि) को प्रयोग हुन्छ। वैज्ञानिकहरूका अनुसार पृथ्वीभित्र हुने भूकम्पीय गतिविधिले यी जीवहरूको लागि जनरेटर वा ब्याट्रीको काम गर्छ। जमिनमुनि चट्टान र पानीको बीचमा हुने रासायनिक घर्षणका कारण इलेक्ट्रोनहरूको प्रवाह सुरु हुन्छ, जसले जीवनलाई आवश्यक ऊर्जा दिन्छ।
अध्ययन टोलीले प्रयोगशालामा पृथ्वीको सबैभन्दा सामान्य खनिज ‘क्वार्ट्ज’ (Quartz) माथि परीक्षण गरेको थियो। जब भूकम्पका कारण चट्टानहरू अचानक फुट्छन् र पानीको सम्पर्कमा आउँछन्, तब त्यहाँ तीव्र रासायनिक प्रतिक्रिया हुन्छ। यसले पानीको अणुहरूलाई टुक्राएर हाइड्रोजन ग्याँस र अक्सिजनका विभिन्न रूपहरू पैदा गर्छ, जुन यी सूक्ष्मजीवका लागि मुख्य आहार र ऊर्जा बन्न पुग्छ।
विनाशकारी घटनाबाट सुरक्षित संसार
वैज्ञानिकहरूका अनुसार यो जीव रहेको स्थान पृथ्वीको यति गहिराइमा छ कि त्यहाँ सूर्यको कडा पराबैंगनी (UV) विकिरण, जलवायु परिवर्तन, वा अन्तरिक्षबाट खस्ने क्षुद्रग्रह (Asteroids) को विनाशकारी प्रभावले कुनै असर गर्न सक्दैन।
यसले के प्रमाणित गर्छ भने, पृथ्वीको सतहमा जीवहरू सखाप हुँदा पनि जमिनमुनिको यो संसार सुरक्षित रहन सक्छ। अनुसन्धानकर्ताहरूका अनुसार मध्यम खालका भूकम्पहरूले पनि यति धेरै हाइड्रोजन ऊर्जा पैदा गर्छन्, जसले त्यहाँ रहेका करोडौं सूक्ष्मजीवहरूको जनसंख्यालाई सजिलै बचाइराख्न सक्छ।
यो खोजले पृथ्वीमा जीवनको सुरुवात कसरी भयो भन्ने मात्र नभई, मंगल वा अन्य चट्टानी ग्रहहरूको गहिराइमा पनि यस्तै प्रकारको जीवन हुन सक्ने बलियो आधार प्रदान गरेको छ।