जेसिस सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ ब्याचका विद्यार्थीहरूका लागि बिदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ। ४७ वर्ष लामो इतिहास बोकेको यस विद्यालयले आफ्नो यस वर्षको ब्याचलाई मायाको चिनो र सम्मानसहित बिदाइ गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै जुनसुकै विषय पढे पनि त्यसमा विशेषज्ञ बन्नुपर्नेमा जोड दिनुभयो। देश निर्माणका लागि सबै विषयको समान महत्व रहेको उहाँको भनाइ थियो।
नगरप्रमुख प्रजापतिले विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा फर्किएर सेवा गर्नुपर्ने साथै शिक्षक र अभिभावकले सधैं विद्यार्थीको क्षमता र रुचिअनुसार उनीहरूलाई उत्साहित गरिरहनुपर्ने बताउनुभयो।” उहाँले सरकारले शिक्षा निःशुल्क भने पनि कर लगाएर अभिभावकमाथि थप भार थोपरेको टिप्पणी गर्नुभयो। साथै, भक्तपुर नगरपालिकाले देशभरका विद्यार्थीका लागि न्यून शुल्कमै उच्च शिक्षाका अवसरहरू उपलब्ध गराउन कलेजहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीले एसईई पछिको यात्रा अझ चुनौतीपूर्ण हुने भएकाले स्पष्ट लक्ष्य निर्धारण गरी अगाडि बढ्न आग्रह गर्नुभयो। विशेष अतिथि दिलरेमण कोजूले सही मार्गदर्शन पाए विद्यार्थीहरू सही बाटोमा अघि बढ्ने बताउनुभयो।
त्यस्तै, सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका अध्यक्ष जे.यस. पौडेलले जेसिस सेवा भावनाका साथ सञ्चालित सार्वजनिक गुठीअन्तर्गतको विद्यालय भएको उल्लेख गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अवालले विद्यालयको विकास यात्राबारे प्रकाश पार्दै हाल यहाँ ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो।
विद्यार्थी प्रतिनिधि पृथुजा गोर्खालीले विद्यालयले आफूहरूलाई ज्ञान, अनुशासन र आत्मविश्वास प्रदान गरेको भन्दै आभार व्यक्त गरिन्।
सो अवसरमा नगरप्रमुख प्रजापतिले एसईई परीक्षार्थीहरूलाई मायाको चिनो वितरण गर्नुभएको थियो भने राष्ट्रिय खेलकुद प्रतियोगिताकी विजेता विद्यार्थी सिल्भी नागालाई विशेष सम्मान गरिएको थियो।